एमसीसी मार्फत रातामाटेमा सब-स्टेशन निर्माण गर्न जग्गा अधिग्रहण

चैत्र १०, २०७८ | नुवाकोट

अमेरिकी सहयताको एमसीसी परियोजना मार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातामाटेमा सब–स्टेशन निर्माणका लागि करीब चार सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । विद्युत प्रशारण आयोजनाले रातोमाटमा सब–स्टेशन निर्माणका लागि बेलकोटगढीको वडा नम्बर ७ को धनसार, नन्दुटार र अमिलिटारमा गरी कुल ३ सय ९८ रोपनी ७ आना २ पैसा जग्गा अधिग्रहण गरिएको हो । 

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार सो जग्गा अधिग्रहण गरिएको एमसीए–नेपालले जनाएको छ । मुआब्जा बापत हालसम्म जग्गा धनीलाई १ अर्ब ४४ करोड १८ लाख ५१ हजार ९ सय ९ रुपैयाँ मुआब्जा दिई सकिएको छ । पूँजीगत लाभकरमा सरकारलाई ४ करोड २६ लाख १७ हजार रुपैयाँ भुक्तानी गरिएको एमसीएले जनाएको छ । सब–स्टेशन निर्माण क्षेत्रका ९७ परिवारले मुआब्जा बापत सम्पूर्ण रकम बुझिसकेका छन् । 

अदालतमा अंश सम्बन्धी मुद्दा चलिरहेका कारण १ धुरीले र फिल्ड बुकमा नाम रहेको तर, पुर्जा नभएका कारण २ धुरीले मुआब्जा पाउन सकेका छैनन् । त्यसैगरी २ धुरीले फिल्ड बुकमा नाम रहेको तर पुर्जा नभएका २ कित्ता बाहेक बाँकी जमिनको मुआब्जा बुझेका छन् । 

२०७६ माघ २२ गते र फागुन ५ गते जिल्ला मुआब्जा निर्धारण समितिले सडकले छोएको जग्गा प्रतिआना ३ लाख २५ हजार, सडकबाट ६० मिटरभित्र प्रति आना २ लाख ५२ हजार, बीचको खण्ड २ लाख १० हजार र हाँडीखोला पारि १ लाख ६० हजार रुपैयाँ प्रति आना निर्धारण गरेको थियो । ‘करीब सबै जग्गा अधिग्रहण गरी एमसीए नेपालको नाममा आइसकेको छ,’ जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भन्नुभयो ।

सो जग्गा अधिग्रहणबाट १ सय २ धुरी विस्थापित मध्ये ३७ धुरी भौतिक रुपमा विस्थापित भएका छन् । ६५ धुरी आर्थिक रुपमा विस्थापित भएका छन् । त्यसैगरी सो क्षेत्रमा निर्माण गरिएका २ वटा इँटा उद्योगका सहित १ सय ९९ वटा भौतिक संरचना पनि प्रभावित सूचीमा परेका छन् ।

एमसीए–नेपाल अन्तर्गत विद्युत प्रसारण र सडक मर्मत गरी दुई वटा आयोजना सञ्चालन गर्दैछ । विद्युत प्रसारण आयोजनाले विद्युत प्रसारण लाइन निर्माण र सब–स्टेशन निर्माण गर्नेछ भने सडक मर्मत आयोजना अन्तर्गत राजमार्गका केही खण्डको मर्मत सम्भार कार्य गर्नेछ । अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत ४०० केभीको विद्युत प्रसारण लाइन एमसीए नेपालले सो सबस्टेसन निर्माण गर्न लागेको हो ।

यो रोतामाटे प्रसारण लाइनको सबस्टेसन काठमाडौंको शंकरापुर नगरपालिका लप्सीफेदीबाट सिन्धुपाल्चोक भोटेचौर हुँदै नुवाकोटको पार्टी भन्ज्याङ–महाकाली–भद्रुटार–थानापति–छहरे–थानसिङ–सूर्यमति–मदानपुर–बेलकोट–जिलिङ हुँदै रातोमाटे सबस्टेसनसम्म जोडिने टावर निर्माण हुनेछ । लप्सीफेदी–रातामाटेबाट एक लाइन हेटौंडा जान्छ । अर्को लाइन नुवाकोट बुधसिंङ हुँंदै तनहुँको दमौली जानेछ । 

नुवाकोटमा मात्रै ५८ किलोमिटर लम्बाईमा १ सय ५५ वटा टावर निर्माण हुनेछन् । तनहुँबाट पाल्पा हँुदै नवलपरासीको सुनौलको सबस्टेसन जोडिने छ । नेपाल–भारतले गोरखपुरसम्म जाने टावर बनाउने छन् । लप्सीफेदीदेखि सिमासम्मको दूरी ३ सय १२ किमी रहेको छ । जम्मा टावर ८ सय ५६ वटा निर्माण हुनेछन् । रातोमाटे–हेटौंडा साढे ५५ किमी र रातोमोट–दमौली सवा ८८ किमी दूरी रहेको छ । 

आयोजनाको उद्देश्य विद्युतको आन्तरिक आपूर्ति वृद्धि गरी देशभित्र रहेका उच्च भोल्टेज प्रसारणको पूर्वाधार बिस्तार गर्दै प्रसारण लाइन सजबुत बनाईने जनाएको छ । नुवाकोट र रसुवाभित्र उत्पादित विद्युत यसै सबस्टेसनमा जोडिने छन् । सडक मर्मत आयोजनाको लक्ष्य सडक विभाग र सडक बोर्ड नेपाललाई प्राविधिक सहायता तथा क्षमता विकासका अवसर उपलब्ध गराउने एमसीएले जनाएको छ ।

त्यसैगरी नेपालका रणनीतिक सडक सञ्जालको गुणस्तर उकास्नु र सडक सञ्जालको आवधिक मर्मत कार्यका लागि बजेटको दायरा बढाउन प्रोत्साहित गर्ने रहेको छ । त्यसका लागि एक मिलान कोष (म्याचिङ फण्ड) को व्यवस्था गर्ने जनाएको छ । 

आयोजनाका लागि ५ करोड २२ लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको एमसीएले जनाएको छ । रातामाटेमा सब–स्टेशन निर्माणका लागि जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन समेत स्वीकृति पाइसकेको छ । हाल विद्युत् प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रमा रुख कटानको कार्य भईरहेको एमसिएले जनाएको छ । 

सडक मर्मत आयोजनाले ७७ किमी सडक खण्डलाई अत्याधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति गर्ने जनाएको छ । दाङको धानखोलादेखि लमहीसम्मको ४० किमि र लमहीदेखि शिवखोलासम्मको ३७ किमि सडकखण्डमा मर्मत सम्भार गरिने एमसीए–नेपालले जनाएको छ । सडक मर्मत आयोजनाबाट १७ सय भन्दा बढी रोजगारी पाउने ९ लाख भन्दा बढी नेपाली लाभान्वित हुने एमसीए–नेपालले जनाएको छ । 


प्रतिक्रिया