चालू आवकै हाराहारीमा बजेट ल्याउने कर्णाली सरकारको तयारी

वैशाख ७, २०७९ | वीरेन्द्रनगर
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० मा पनि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालू आवको अन्तिम तीन महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकार पनि आगामी आवको बजेट तयारीमा जुटको हो ।चालू आवमा कूल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट ल्याएको कर्णाली सरकारले आगामी आवमा पनि ३५–३६ अर्बकै हाराहारीमा बजेट ल्याउने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले चालू आवमा ल्याईएको बजेटमा नबढेर आगामी बजेट ल्याइने बताउनुभयो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको अनुमान, राजस्व परामर्श, सशर्त र समपुरकका योजनाहरु लिने काम गरिसकेको मन्त्री विष्टको भनाई छ । यसैबीच कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा कूल बजेटमध्ये आठ अर्ब ४० करोड ९४ लाख नौ हजार पाँचसय १८ रुपैयाँ मात्रै खर्च गरेको छ । आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म प्रदेश सरकारले कूल बजेटको २२ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।