कर्णालीका अदुवा युरोपसम्म

असार १०, २०७९

प्रतिकिलो ५–१० रुपैयाँमा विक्री गर्दै आएका कर्णालीका किसानहरुले अहिले ४० देखि ४३ रुपैयाँ सम्ममा घरबाटै अदुवा विक्रीवितरण गर्न थालेका छन् । कर्णालीका अदुवा कृषकले आफ्नो उत्पादन विक्री गर्नका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले विक्रीवितरण गरिरहेका छन् । 

अदुवाले सहजै बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवा खेतीमा बढ्दै गएको छ । यसअघि परम्परागत रुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यवसायिक रुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे वालीका रुपमा हेर्न थालेका छन् । सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका ५ छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारस्थित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । 

प्रालीले किसानको अदुवालगायतका उत्पादन खरिद गर्न थालेपछि किसानहरुलाई सहज भएको हो । प्रालीले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा आफ्ना उतपादन निर्यात गर्दै आएको छ ।


प्रतिक्रिया