तेह्रथुम ढाका कपडाको राजधानी घोषणा

असार २०, २०७९

हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा गरेको छ । ढाका कपडा बुन्ने सीप र कलालाई विश्वभर प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाका कपडाको राजधानी घोषणा गरिएको मन्त्रालयले जनाएको छ । म्याङलुङ नगरपालिकाले अयोजना गरेको कार्यक्रममा मन्त्रालायका सचिब अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गर्नु भएको हो । यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेको थियो । 

मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका कपडा राजधानी घोषणा गर्ने कार्यक्रमचालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो । ढाका कपडालाई निर्यातयोग्य वस्तुका रूपमा अघि बढाएर लैजाने कार्यक्रम राखिएको सचिव पोखरेलको भनाई छ । तेह्रथुमको ढाका कपडाको अनुसन्धान गर्न चाहनेहरूका लागि दातृ संस्था मार्फत परिचालन गर्ने योजना पनि मन्त्रालयको छ । राजधानी घोषणापछि आगामी दिनमा मन्त्रालय वा अन्य दातृ निकाय बाट कार्यक्रम गर्न पनि सहज हुने म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङफेले बताउनुभयो । पछिल्लो समय तेह्रथुमे ढाका कपडाको उत्पादन र वजारीकरणमा व्यवसायी र साना उद्यमी समेत सक्रिय भएर लागेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । 

ढाकाको राजधानी घोषणा गर्न म्याङलुङ नगरपालिकाले समन्वय गरेको हो तेह्रथुम हाते तानबाट बुनीने ढाका कपडाको उद्गमस्थल भएको र ढाकाको प्रवर्द्धनका लागि यस अघि देखी नै म्याङलुङ नगरपालिकाले सहयोग गरीरहेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भटराईले बताउनुभयो । 


प्रतिक्रिया