दोर्दी खोलाबाट उत्पादन परीक्षण सुरु, २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियाे

भाद्र १४, २०७९ | लमजुङ

 लमजुङमा निर्मित २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केही दिनदेखि परीक्षण प्रसारणमा रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत आजदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३५ दशमलब ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलब ३० प्रतिशत र स्थानीय साथै सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको शेयर छ । उक्त आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । 

प्रवद्र्धकको ३५ प्रतिशत इक्विटी (स्वपुँजि) रहनेछ करीब ३ महिनाअघि निर्माण सकेको आयोजनाले राष्ट्रिय प्रसारण लाइन कुरिरहेको थियो । निर्माणाधीन २२० केभीको राष्ट्रिय प्रसारण लाइनले उदिपुरमा सबस्टेशन निर्माण गर्न ढिलाई गरेपछि नेपाल विद्युत प्राधिकरणले उदिपुरबाट ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रसम्म १३२ केभीको ३ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ । दोर्दीखोलाले आफ्नो विद्युतगृहदेखि उदिपुरसम्म यसअघि नै ३ किलोमिटर प्रसारण लाइन निर्माण गरिसकेको छ

आज आयोजित विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष जिवा लामिछानेले आफू अध्यक्ष रहेको बेला गैरआवासीय नेपालीलाई जलविद्युतमा लगानी गर्ने अवसर प्रदान गर्नका लागि भन्दै उक्त आयोजनाको निर्माण सुरु गरेका बताउनुभएको छ । उहाँले एनआरएन इन्भेस्टमेन्ट लिमिटेडबाट पहिलोपटक दोर्दीखोलाको जलविद्युतमा लगानी गरेको बताउनुभयो । यस्तै, आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले एनआरएनसंग मिलेर मिलेर पाइलट प्रोजेक्टको रुपमा अघि बढाएको भन्दै नेपालको जलविद्युत, पर्यटन, पूर्वाधारमा लगानी गर्न आग्रह गरे गर्नुभयो।

पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको यो आयोजना २०७१ फागुनबाट निर्माण सुरु भएको थियो । २०७४ असार मसान्तसम्म निर्माणसक्ने लक्ष्य लिइएको उक्त आयोजना निर्माण सक्न आयोजनालाई तेब्बर समय लागेको छ । प्रवद्र्धक हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले भूकम्प, नाकाबन्दी, बर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभाव लगायतले निर्माणकार्य ढिला भएको बताउनुभयो ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसंग चलनचल्तीको दर अनुसार हिउँद (सुख्खायाम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेको थियो । २०६९ असार १ गते पीपीए गरेको आयोजनाले २ बर्षपछि निर्माण थालेको थियो । ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको उक्त आयोजनाको लागत बढेर ४ अर्ब ६४ करोड पुग्ने आाकलन आयोजनाले गरेको छ । निर्देशक ढकालले करीब ५ अर्ब पुग्न सक्ने बताउनुभयो ।

दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दीखोलामा बाँध निर्माण गरिएको छ । बेंसीसहर नगरपालिका ११ चितीको रामचोकबेंसी नजिकै मस्र्याङदी नदी किनारमा विद्युतगृह निर्माणाधिन छ । आयोजनामा २ हजार ७ सय ७० मिटर सुरुङ निर्माण गरिएका छन् । २ हजार ६ सय मिटर पेनस्टक पाइप जडान गरिएका छन् । विद्युतगृहमा ९/९ मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन जडान गरिएको छ । आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ । आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ । राष्ट्रिय प्रसारण लाइनमा जडान भएको दिनदेखि १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क प्रदान गरिनेछ । त्यसपछि व्यवसायीक उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।


प्रतिक्रिया