निजी क्षेत्रको समस्या समाधानका लागि राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

मंसिर २९, २०७९ | मोरङ

राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको सातौं कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो २०७९’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रमा थप लगानी भित्र्याउन उद्योगी व्यवसायीलाई उत्साहित राख्न सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा रोजगारी सृजना गर्नु अहिलेको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘यसबाट मुलुकले भोग्नु परेको चुलिँदो ब्यापार घाटाको अवस्थालाई क्रमशः सन्तुलनमा ल्याउन मद्दत पुग्नुको साथै पूँजी र प्रतिभाको पलायन रोक्न समेत सकिन्छ ।’

राष्ट्रपति भण्डारीले प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले औद्योगिक एवम् आर्थिक विकासमा ठूलो सम्भावना बोकेको बताउनुभयो । ‘भारतको बढ्दो आर्थिक विकास र बिस्तार हुँदै गएको बजारबाट यस क्षेत्रले लाभ लिन सक्छ,’ भण्डारीले भन्नुभयो, ‘पछिल्लो समयमा विराटनगरदेखि संखुवासभाको किमाथांकासम्म जोड्ने कोशी राजमार्गको निर्माण प्रगति उन्नमुख रहेकाले चीनको बजारसम्म समेत जोडिने नयाँ सम्भावनाको ढोका खुल्ने देखिन्छ ।’ राष्ट्रपति भण्डारीले समग्र प्रदेश र देशको पर्यटन एवम् समग्र औद्योगिक विकास बिस्तारमा कोशी राजमार्गको निर्माणले ठूलो योगदान पुग्ने बताउनुभयो । विराट सम्भावना बोकेको विराटनगरले मुलुकको अर्थ व्यवस्थालाई स्वाधिन र स्वाबलम्बि बनाउन औद्योगिक क्षेत्रलाई राष्ट्रपति भण्डारीले आहृवान गर्नुभयो । ‘उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्यमीबीचको सम्बन्ध एवम् सहकार्यमा उहाँले जोड दिनुभयो । मुलुकको इतिहासमा विराटनगरको विशिष्ट एवम् सम्मानित पहिचान रहेको उहाँको भनाई छ । 

विराटनगरका उद्योगीहरुले मुलुकको सामाजिक क्षेत्रमा गरेका योगदानको राष्ट्रपति भण्डारीले प्रशंसा गर्नुभयो । ‘केही दशक अघिसम्म देशको प्रमुख औद्योगिक केन्द्र रही देशको राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको विराटनगरले पछिल्ला वर्षहरुमा आफ्ना पहिचान कायम राख्न संघर्ष गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘इतिहासको गौरवलाई कायम राख्दै वर्तमान समयमा विराटनगरको मौलिक पहिचान दर्शाउने प्रतिकात्मक संरचना निर्माणको पहलका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’ महाभारतकालिन राज विराटसँग समेत सम्बन्धित रहेको विराटनगर नेपाली सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विकास निर्माणमा सबैलाई एकजुट हुन उहाँले आग्रह गर्नुभयो । विशिष्ट प्रकारका औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापित गर्ने तथा बजार र उत्पादित वस्तुहरुको बिस्तार गर्ने कार्य महत्वपूर्ण भएको भण्डारीले बताउनुभयो । ‘यस एक्स्पोबाट औद्योगिक उत्पादनहरुको खरिद बिक्री मात्रै नभई उद्योगी व्यवसायीहरुको अनुभव र सिकाइको आदान प्रदान समेत हुनेछ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारीले शिथिल बन्न पुगेको आर्थिक गतिविधिलाई यो एक्स्पोले नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन महत्वपूर्ण योगदान गर्नेछ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजारमा देखिएको तरलता, बैंकको चर्को ब्याज र राष्ट्र बैंकले लिएको नीतिले मुलुकको अर्थतन्त्र संकुचनमा परेको बताउनुभयो । ‘मुलुकको निर्माण, दैनिक उपभोग्य, विद्युतीय, अटोमोबाइल लगायत सबै क्षेत्रको कारोबार संकुचनमा परेको छ,’ उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण बनेको छ । त्यसैले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति कार्यविधि स्थगित राख्नु आवश्यक छ ।’ अध्यक्ष गोल्छाले भुक्तानी सन्तुलनले मात्रै अर्थतन्त्र चलायमान नहुने भन्दै त्यसका लागि बजारमा देखिएको तरलता हटाउनु आवश्यक रहेको बताउनुभयो । त्यसका लागि राष्ट्र बैंकले व्यवसायिक बैंकमा तरलता प्रवाह गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगरको औद्योगिक साख फर्काउन विशेष आर्थिक क्षेत्र, प्रदर्शनी स्थल, विराटनगर एकीकृत भन्सार जाँच चौकीसम्म कार्गो रेलको व्यवस्था गर्न माग गर्नुभयो । विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रांगनमा आयोजित ‘विराट एक्स्पो २०७९’ सात दिनसम्म चल्नेछ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले उत्पादक र उपभोक्ताबीच अनुभव आदान प्रदान, व्यवसायीक सम्बन्ध विकासका साथै नयाँ प्रविधि पहिचान र प्रयोगको उद्देश्यले एक्सपो आयोजना गरिएको बताउनुभयो । प्रदेश १ लगायत मुलुकभरिका उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानबाट प्रदर्शनीमा सहभागिता रहेको छ । प्रदर्शनीमा रहेको ३६१ स्टलमा पर्यटन, लगानी, श्रम, रोजगार तथा सीप, स्टार्टअप, औद्योगिक कर्पोरेट र कन्जुमर प्रोडक्ट, कृषि तथा साना घरेलु एवं सूचनामूलक, अटो–मोबाइल्स र खाद्य परिसरका लागि स्टल रहेका छन् । प्रदर्शनीमा अबलोकन गर्न आउनेले औद्योगिक उत्पादन, प्रविधि र सेवा, कृषि सामग्री, औजार, मेसिन उपकरण लगायतको बारेमा प्रत्यक्ष ज्ञान प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेका लागि कटहरी, रानी र सुनसरीको दुहबीबाट प्रदर्शनी स्थलसम्म निःशुल्क बस सेवाको आयोजकले व्यवस्था गरेको छ । 


प्रतिक्रिया