विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन शिलान्यास

फाल्गुन १, २०७९ | मोरङ

विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको सोमबार शिलान्यास गरेसँगै विमानस्थलको स्तरोन्नति सुरु भएको हो । 

टर्मिनल भवन २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा निर्माण सुरु भएको हो । १८ सय यात्रु क्षमताको टर्मिनल भवन निर्माणका लागि केसी/डाँफे जेभी निर्माण कम्पनीले गत मंसिर ११ गते ठेक्का सम्झौता गरेको थियो । नवनिर्मित पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय टर्मिनल भवन भन्दा ठूलो १६ हजार २७७ दशमलव ८३ वर्गमिटरको सो टर्मिनल भवन निर्माण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंसराज पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार टर्मिनल भवनमा १७ वटा टिकट काउण्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेण्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, धुम्रपान कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हल लगायतको अत्याधुनिक सुविधा रहने छन् । यसअघि १३ अर्ब रुपैयाँ लागतको गुरुयोजना निर्माण गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रुपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।

मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १२६ दशमलव ४६ विघा जग्गा अधिग्रहण गर्ने निर्णय अनुसार जिल्ला प्रशासन मोरङ र सुनसरीले जग्गाधनीहरुलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना समेत सार्वजनिक गरिसकेका थिए । तर, अघिल्लो संघीय सरकारले मुआब्जा वितरणका लागि बजेट विनियोजन नगरेपछि जग्गाधनीको दबाबमा मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयले अघिल्लो निर्णय फिर्ता लिएको थियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगर प्रमुख भीम पराजुली लगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको थियो । 

विमानस्थलको हाल रहेको एक हजार पाँच सय मिटर लम्बाईको धावनमार्गलाई तीन हजार मिटरमा बिस्तार गर्न सम्झौता गरेको थियो । विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि संघीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने सम्झदारी पत्रमा उल्लेख थियो ।

विराटनगर विमानस्थलबाट हाल यति एयरलायन्सको ४, बुद्ध एयरलायन्सको ७, सौर्यको २ र श्री एयरलायन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ । टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री किरातीले विमानस्थल बिस्तार ब्यापारिक योजना, सम्भाव्यता अध्ययन, आवश्यकता र स्थानीयको परामर्शमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

‘अर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रत्येक विमानस्थलको बिजनेश प्लानको आधारमा लगानी थपिने काम हुन्छ ।’ मन्त्री किरातीले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि रुट लगायत सम्पूर्ण समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम अघि बढाएको बताउनुभयो । 

रुट परमिटको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न टोली खटाइसकेको किरातीको भनाइ थियो । नागरिक उड्डयन प्राधिकरणलाई मुनाफामा लग्नका लागि प्रत्येक विमान दैनिक १५ घण्टा भन्दा बढी चलाउने गरी काम अघि बढाएको मन्त्री किरातीले बताउनुभयो । 

‘विराटनगर विमानस्थलबाट पहाडी तथा हिमाली क्षेत्रमा उडानका साथै सबै विमानस्थलको कार्य योजना बनाउने काम भइरहेको र त्यसपछि अनुगमन गरेर योजना कार्यान्वयनमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘तर विमानस्थल सञ्चालन भएपछि अन्तर्राष्ट्रिय स्तरको तारे होटलको मात्रै विकास हुन ुहुँदैन, स्थानीय परिकार, पर्यटन, संस्कृतिको समेत प्रबर्द्धन हुनुपर्छ र त्यसको प्रत्यक्ष लाभ तल्लोस्तरको सर्वसाधारणले समेत पाउनु पर्छ ।’ 


प्रतिक्रिया