तुलसी बहुउद्देश्यीय सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, ३ पक्राउ

फाल्गुन २९, २०७९ | विराटनगर

आर्थिक अनियमितता गरेको अभियोगमा मोरङको विराटनगर महानगरापालिका–३ शंकरपुरस्थिर तुलसी बहुउद्देश्यीय सहकारी सस्थाका सञ्चालक विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । 

सर्वसाधारणको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँ भन्दा बढी बचत हिनामिना गरेको अभियोगमा बचतकर्ताले सहकारीका ८ जना सञ्चालक विरुद्ध ठगी मुद्दा दर्ता गरेको हो । रकम ठगी भएको घटनामा संलग्न सो सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका–२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका–६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका–१४ घर भई हाल विराटनगर महानगरपालिका–३ बस्ने सविना न्यौपाने छन् । 

सो सहकारीले यही फागुन १ गतेदेखि सेयर सदस्यलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मुख्य कार्यालय विराटनगर रहेको सो सहकारीको झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा शाखा कार्याललय छन् । ती सबैमा कार्यालयमा गरेर १ अर्ब ४८ करोड ५५ लाख भन्दा बढी बचत रहेको पुष्टि भएको छ । यसका सदस्य सख्या २१ हजार ७ सय १३ जना छन् । 

अहिले सहकारीका अध्यक्ष केदारनाथ शर्मा फारार छन् । आइतबारसम्ममा मोरङका मात्र १ सय २१ जनाले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रुपैयाँ बराबरको रकम ठगी भएको उल्लेख गर्दै सहकारीका सञ्चालक विरुद्ध उजुरी दिएको जिल्ला प्रहरीका कार्यालय मोरङका एसपी दिपक पोखरेले बताउनुभयो । 

अध्यक्ष सहित अन्य पाँच जनाको खोजी भइरहेको छ । एसपी पोखरेलका अनुसार यो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङ सहित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र प्रदेश प्रहरी व्यूरोले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।

यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि आन्दोलन गर्दा एक महिनादेखि विराटनगर–३ स्थित सहकारीको मुख्य कार्यालय सहित झापा, उदयपुर र सिराहमा रहेका शाखा बन्द छन् । 

सहकारीले अवैध तरिकाले इन्टर कम्पनी नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदहस्थित तुलसी राईस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको भएपनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको स्रोतको दाबी छ । 

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । सो ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् । यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रालि, गोरर्खा टी–एण्ड कफी इ.प्रालि, तुलसी स्वरुम तथा उपकार ब्राण्डका विभिन्न खाद्य सामग्रीको उत्पादन र बिक्री गर्दछ । 

अडिट रिपोर्टमा यी उद्योगमा जम्मा लगानी ४० लाख मात्र लगानी भएको देखाइएको छ । अरु लगानी बैंकको ऋण भनिएको छ । तर, सबै सर्वसाधरणको बचत त्यहाँ लगानी भएको स्रोतको दाबी छ । सहकारीकै स्वामित्वमा भने पानी उद्योग र राइस तथा चिउरा मिल मात्रै हो । अरु उद्योग अध्यक्ष शर्माको एकल हो ।

अन्य उद्योगमा गैरकानूनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि सहकारी आर्थिक संकटमा परेको स्रोतको भनाई छ । सचिव सविना न्यौपानेले सहकारीकै रकम आफ्ना भाई सागर न्यौपानेलाई दिएर बिर्तामोडमा एस मार्ट खोलेको र त्यसपछि थप ८ लाख ऋण प्रवाह गरेको स्रोतको दाबी छ ।

एस मार्टले सो रकम अहिलेसम्म फिर्ता नगरेको स्रोतले बतायो । यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा त्यसबेला सहकारीमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ तथा नगद सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको सस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ । 

लगानी भने विभिन्न चार वटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ रहेको छ । 


प्रतिक्रिया