पर्सामा घट्दै उखुको खेती

वैशाख १६, २०८० | पर्सा

पर्सामा बर्सेनि उखुको खेती घट्दै गईरहेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार गत वर्ष भन्दा चालू आर्थिक वर्ष जिल्लामा उखु खेती र उत्पादन दुबै घटेको हो ।

केन्द्रको तथ्यांक अनुसार यस वर्ष जिल्लामा २ हजार ९ सय हेक्टरमा उखु खेती हु“दा १ लाख २३ हजार २ सय ५० मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष २ हजार ९ सय ५० हेक्टरमा गरिएको उखु खेतीमा १ लाख २३ हजार ९ सय मेट्रिक टन उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकृत सुरेन्द्र प्रसाद कुर्मीले यस वर्ष जिल्लाका किसानले लगाएको उखुमा ‘रेड रट’ नामको रोग लागेकाले उत्पादन घटेको बताउनुभयो ।

किसान संघ पर्साका अध्यक्ष असर्फी साहले एकातिर बालीमा लाग्ने रोग र अर्कोतिर समयमा चिनी मिलबाट उखुको चलान नपाउँदा किसान समस्यामा परेको बताउनुभयो । किसानहरुले बर्सेनि समस्या भोग्न थालेपछि उखु खेतीप्रतिको आकर्षण घटेको उहाँको भनाई छ । हाल पर्साका किसानले बाराको कलैयास्थित रिलायन्स सुगर मिल र रौतहटको बाबा बैजुनाथ सुगर मिललाई उखु बिक्री गर्दै आएका छन् । 


प्रतिक्रिया