पहिलो पटक कोइला बोकेर नेपाल आइपुग्यो रेल

शनिबार राति सिर्सिया सुक्खा बन्दरगाहमा भारतको धनवादबाट कोइला बोकेर आईपुगेको रेल्वे र्‍याक । तस्बिर सौजन्यः अतुल शर्मा  

असार १८, २०८० | पर्सा

वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट पहिलो पटक रेलबाट कोइला आयात भएको छ । शनिबार राति करीब साढे १० बजे एक रेल्वे र्‍याक कोइला बन्दरगाहमा पहिलो पटक भित्रिएको हो । 

भारतको झारखण्डस्थित धनवादबाट बिहीबार ५९ वटा बक्स एन वागनमा ३ हजार ६ सय ५० टन कोइला बोकेर हिँडेको रेल्वे र्‍याक बन्दरगाह आईपुगेको हो । यसरी नेपालमा पहिलो पटक सोझै रेलबाट कोइला आयात भएको हो । धनवादबाट वीरगञ्ज आइपुग्न रेलले करीब ५ सय किलोमिटर यात्रा तय गरेको थियो । वीरगञ्जकै लतिका कम्बोडिटी सप्लायर्स प्रालिले यो कोइला आायात गरेको हो । 

यसअघि वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेशनमा रेलबाट कोइला ल्याएर त्यहाँबाट टिपरमा ढुवानी गरी नेपालसम्म ल्याइन्थ्यो । सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले लामो प्रयास र प्रतीक्षापछि नेपालमै पहिलो पटक रेलबाट कोइला आयात गर्न सफल भएको बताउनुभयो । 

भारतबाट रेलमा सिधै नेपालसम्म कोइला ल्याउँदा आयातकर्ताको ढुवानी लागत कम पर्ने उहाँको भनाई छ । यस बाहेक भारतमा कोइला चोरी हुने र हराउने जस्ता समस्याबाट पनि नेपाली आयातकर्ताले मुक्ति पाउने उहाँले दाबी गर्नुभयो ।

‘यसअघि भारतको रक्सौल रेल्वे स्टेशनमा रेलबाट कोइला अनलोड गरी वीरगञ्जसम्म टिपरमा लोड गरेर ल्याउनु पर्थ्यो, त्यसमा लागत स्वाभाविक रुपले बढी हुन्थ्यो,’ शर्माले भन्नुभयो, ‘अब रक्सौलबाट वीरगञ्जसम्म कोइला ढुवानीको झन्झट मात्र सकिएन, आयात लागत नै कम हुन गयो, जसबाट कोइलाको लागत पनि घटन जान्छ ।’

रक्सौलबाट कोइला टिपरमा बोकेर ल्याउँदा रक्सौल भन्सार र वीरगञ्ज भन्सार दुबैमा इन्ट्री शुल्क पनि बचत हुनेछ । यस बाहेक कोइला आयात गर्दा कस्टम क्लियरेन्सको काम पनि नेपाली भन्सारमै हुने नेपाली भन्सार एजेन्ट र आयातकर्ता दुबैलाई सहज हुनेछ । यसरी नेपालमै कोइला भित्रिँदा रक्सौल रेल्वे स्टेशनको भार पनि घटने सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख शर्माले बताउनुभयो । ‘हामी पहिलो ३ महिना रक्सौल रेल्वे स्टेशनको भारत ५० प्रतिशतले घटाउछौं,’ उहाँले भन्नुभयो, ‘त्यसपछि रक्सौलको भार शत प्रतिशत घटाउने छौं ।’

यसअघि वीरगञ्जको आइसीपी नाकाबाट मात्र कोइला आयात हुँदै आएको थियो । सामान्य अवस्थामा वीरगञ्ज नाकाबाट मासिक १ लाखदेखि १ लाख २५ हजार टन कोइला आयात हुँदै आएको थियो । पछिल्लो केही महिना यता कोइलाको आयात घटेर मासिक ७२ हजार टन हाराहारीमा सीमित भएको छ । 

कोइला सिमेन्ट र सिमेन्ट क्लिङ्कर उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थ हो । प्रिस्टिन भ्यालीका निर्देशक रजनिश कुमारले सन् २०२२ डिसेम्बर अन्त्यतिर नै यो बन्दरगाह नाकामा डस्टी कार्गो आयातको लागि पूर्वाधार तयार भईसकेको बताउनुभयो ।

प्रिष्टिन भ्यालीले करीब ४ करोड रुपैयाँ लगानीमा बन्दरगामा डस्टी कार्गो आयातका लागि विभिन्न खालको पूर्वाधार तयार पारेको थियो । सुक्खा बन्दरगाहमा डस्टी कार्गो आयातकै लागि बीसीएन गोदामको नजिक रहेको ४ नम्बर लिकलाई उखेलेर बन्दरगाहको पश्चिमतर्फ जडान गरिएको थियो । ‘६–ए’ नाम दिइएको सोही ट्रयाकबाट पुस अन्त्यमा पहिलो पटक भारतबाट स्टिल बोकेर एउटा रेल्वे र्‍याक समेत आई सकेको थियो ।

विगतमा सो लिकको अन्तिम बिन्दु बन्दरगाहमा रहेको इन्जिन रिभर्सल प्वाइन्टसम्म नपुगेकाले लिकमा रेल ल्याउन सम्भव थिएन । गोदाम र अन्य लिकको बीचमा परेपछि मालबाहक रेलहरुबाट मालवस्तु सोझै गोदामसम्म ल्याउन निक्कै अप्ठेरो पनि भई रहेको थियो । अब स्थानान्तरण गरिएको लिकबाट मालबाहक रेल ल्याउन र इन्जिन फर्काउन समेत सहज भएको छ । 

नयाँ जडान गरिएको लिक र पुरानो ५ नम्बर लिकको बीचमा ७ सय मिटर लामो १५ फिट अग्लो जस्ताको ‘डस्ट ब्लकिङ्ग’ पर्खाल निर्माण गरिएको छ । यस बाहेक बन्दरगाहको पश्चिम तर्फ रहेको हालको ७ सय मिटर लामो पर्खाललाई १२ फिट अग्लो बनाएर पर्खालको उचाइ १७ फिट पारिएको छ । यसरी २ वटा पर्खाल निर्माण र साबिकको पर्खालको उचाई बढाइएपछि बन्दरगाहबाट धूलोका कण बाहिरिएर मानव बस्तीमा पुग्ने छैन र स्थानीयको गुनासो पनि नआउने प्रिस्टिन भ्यालीका निर्देशक कुमारले बताउनुभयो । 

यसका साथै ७ सय मिटर लामो कम्पाउण्ड वालमै पानीको फोहोरा झार्ने २५ वटा स्प्रिङ्कल समेत जडान गरिएको छ । यस बाहेक रेल प्रवेश मार्गमै पनि स्प्रिङ्कल जडान गरेर बन्दरगाहमै डस्टी कार्गो लिएर प्रवेश गर्ने रेलमा पानीको फोहोरा छर्ने तयारी पनि गरिएको छ । यसका साथै बन्दरगाह परिसरमा ट्याक्टर ट्रलीबाट पानी छर्नका लागि ट्याक्टरको व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया