चिया श्रमिकको माग सम्बोधनका लागि सरकारसँग उद्योगीको आग्रह

काम सकेर झापाको बिर्तामोडस्थित गिरी बन्धु टी स्टेटमा विरोध कार्यक्रममा सहभागी हुँदै चिया श्रमिकहरु । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर 

श्रावण ३, २०८० | बिर्तामोड

चिया क्षेत्रमा उत्पन्न समस्या समाधानको पहल तथा सहजीकरणका लागि झापाका चिया उद्योगीहरुले सरकारसँग आग्रह गरेका छन् । ज्यालावृद्धि लगायत माग राख्दै विरोधमा उत्रिएका श्रमिकका मुद्दा सम्बोधनमा पहलकदमी लिन उनीहरुले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

चिया श्रमिकहरु ज्याला वृद्धिसहित चार बुँदे माग राखेर गत आइतबारदेखि पुनः विरोधमा उत्रिएका छन् । श्रमिकहरुले आन्दोलन सुरु गरेको भोलिपल्टै सोमबार नेपाल चिया उत्पादक संघले लिखित पत्रमार्फत सरकारसँग सहजीकरणको आग्रह गरेको हो । 

श्रम ऐन अनुसार साउन १ गतेदेखि चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने हो । तर, अहिलेसम्म चिया श्रमिकको ज्याला वृद्धिको विषय नटुंगिएकाले दबाब स्वरुप विरोधमा उत्रिएको श्रमिकहरुको भनाइ छ । श्रमिकहरुले मूल्य वृद्धिका आधारमा हाल कायम दैनिक ज्यालामा २० प्रतिशत अर्थात दैनिक ८७ रुपैयाँ थप बढ्नुपर्ने माग राखेका छन् । 

उद्योगीले आर्थिक मन्दी, कोभिड लगायत समस्या देखाउँदै दैनिक ज्यालामा बढीमा ३० रुपैयाँसम्म मात्र वृद्धि गर्न सकिने प्रस्ताव गरेका छन् । चिया श्रमिकको हालको दैनिक ज्याला ४ सय ३५ रुपैयाँ छ । श्रमिकको माग अनुसार ज्यालावृद्धि गर्न सक्ने नरहेको चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो ।

‘श्रमिकले मागे अनुसार ज्यालावृद्धि गर्न सक्ने अवस्थै छैन,’ उहाँले भन्नुभयो, ‘उत्पादित चियाको मूल्य छैन । चिया उत्पादनमा लागत मूल्य बढेको बढेकै छ । ८७ रुपैयाँ ज्याला कसरी बढाउनु ?’

संघका अध्यक्ष मित्तलले श्रमिकको अहिलेको माग सम्बोधनमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘हामी त चिया क्षेत्र धान्नै नसक्ने अवस्थाबाट गुज्रिरहेका छौं’, उहाँले भन्नुभयो, सरकारले सहयोग गर्‍यो भने श्रमिकको माग सम्बोधन होला होइन भने त हामी मात्रले केही गर्न सक्ने अवस्था छैन ।’

श्रमिकको माग सम्बोधनमा उद्योगी गम्भीर नभएको श्रमिक नेताको आरोप छ । ‘पटकपटक वार्तामा बस्दा पनि हाम्रो मागका विषयमा निष्कर्षमा पुग्न सकिएन’ श्रमिक नेता भूपाल सापकोटाले भन्नुभयो, ‘बाध्य भएर हामी आन्दोलनमा गएका हौं ।’ श्रम ऐन कार्यान्वयन गर्ने र श्रमिकलाई कानून अनुसारको सेवा सुविधा दिने दायित्व उद्योगी र सरकार दुबै पक्षको भएको उहाँको भनाई छ ।

श्रमिकले आन्दोलन सुरु गरेको तथा उद्योगीले पत्रमार्फत सहजीकरणको माग गरेको विषयमा आफूहरु छलफलमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो । श्रमिकको जायज माग सम्बोधनका लागि पहलकदमी लिन बोर्ड तयार रहेको उहाँको भनाइ छ ।

श्रमिकले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको आधारमा हाल पाइरहेको ४ सय ३५ मा थप ८७ रुपैयाँ ज्याला वृद्धि हुनुपर्ने माग राखेका छन् । उनीहरुले हरियो पत्ती टिपाईको काममा ठेक्का भन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्न पनि माग राखेका छन् । श्रम ऐन–२०७४ को दफा १० मा भएको व्यवस्था अनुसार कार्यरत सबै श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउन उनीहरुको माग छ ।

श्रमिकलाई काममा लगाउनु अघि ऐनको दफा ११ अनुसार अनिवार्य रोजगार सम्झौता गरेर मात्र काममा लगाउन समेत माग गरेका छन् । उनीहरुले चिया बगानमा काम गर्ने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्न समेत माग राखेका छन् ।


प्रतिक्रिया