मनाङमा लम्पी स्कीनबाट याक–चौंरी सुरक्षित

श्रावण ४, २०८० | लमजुङ
गाईगोरुमा बढीमात्रामा लाग्ने लम्पी स्कीनबाट हिमाली जिल्ला मनाङको याक–चौंरी भने सुरक्षित छन् । उच्च हिमाली क्षेत्रमा पालिका याकचौंरीमा हालसम्म लम्पी स्कीनको संक्रमण नदेखिएको भेटेरिनरी अस्पताल पशु विज्ञ केन्द्र मनाङले जनाएको छ । कार्यालय प्रमुख पशु चिकित्सक नारायण कुसुमका अनुसार केही गाइगोरुमा भने लम्पी स्कीम संक्रमण देखिएको छ ।
उनका अनुसार हालसम्म ३ वटा गोरु र ४ वटा गाईमा मात्रै लम्पी स्कीन संक्रमण देखिएको छ । हालसम्म याक र चौंरीमा लम्पी स्कीन संक्रमण नदेखिएको उनले बताए । उनले ८९ वटा गाई, ९६ वटा गोरु र याक–नाक–झोपा–चौंरी गरी ५१ वटा चौपायमा लम्पी स्कीनविरुद्धको खोप लगाइसकिएको बताए ।
उनका अनुसार यो बेला याकचौंरी उच्च हिमाली भेगको चरनमा भएकाले ती ठाउँसम्म रोग सार्ने किरा उक्लिन नसक्दा याकचौंरी लम्पी स्कीनबाट जोगिएका हुन् । ‘मनाङमा हालसम्मयाक चौंरीमा लम्पी स्किन संक्रमण देखिएको पुष्टि भएको छैन । तल्लो भेगका पशुसंग चरनमा रहेका अन्य चौपायको याक चौंरीसंग सम्पर्क पनि छैन’ उनले भने, ‘उच्च भेगको याक चौंरी भएको ठाउँमा रोग सार्ने किरा पुग्न नसक्दा याक चौंरी सुरक्षित भएका हुन् ।’
उनले उच्च क्षेत्रमा चिसो भएकाले ती क्षेत्रमा लम्पी स्कीन सार्ने किरा उक्लिन गाह्रो पर्ने बताए । उनका अनुसार मनाङमा ३ हजार ५ सय बढीको संख्यामा याक चौंरी छन् । याक चौंरी अहिले समुद्री सतहदेखि ४ हजार मिटर माथिको उचाइमा छन् ।
लामखुट्टे, झिंगा, किर्नालगायतको टोकाइबाट यो रोग एकअर्का पशुमा सर्ने पशु चिकित्सक कुसुम बताउँछन् । साथै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्छ । मनाङमा १ हजार ५ सय बढी गाइगोरु छन् । तल्लो क्षेत्रमा रहेको पशु एकअर्कामा लसपस भएको र रोग सार्ने लामखुट्टे, झिंगा, किर्नाजस्ता किराहरु सवारी साधनमार्फत मनाङमा आएकाले गाइ गोरुमा संक्रमण भएको हुनसक्ने उनले बताए ।
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउापालिका ५, भ्राकाको आइसलेकमा पालिएका याक चौंरी ।