लम्पी स्किन प्रकोपः ३० हजार खोप आवश्यक पर्नेमा २ हजार डोज मात्रै

श्रावण ६, २०८० | पाल्पा

पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पाल्पामा खोप लगाउन सुरु गरिएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पहिलो चरणमा उन्नत जातका गाईमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

तिनाउ गाउँपालिका–६, मस्यामका विभिन्न स्थानमा सञ्चालित पशु फार्ममा रहेका उन्नत जातका गाईमा खोप दिइएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा. नवीन बस्यालका अनुसार व्यावसायिक पशुपालन गरेका कृषकको फर्ममै पुगेर सो रोगविरुद्धको खोप दिइएको छ ।

उहाँले ३० हजार खोप आवश्यक पर्नेमा २ हजार डोज मात्रै आएको बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा गाईगोरुमा फैलिएको लम्पी स्किन रोगबाट १ सय १० बढी पशु चौपाया मरेका छन् ।


प्रतिक्रिया