वीरगञ्ज नाकाबाट सबै खाले इन्धनको आयात घट्यो

श्रावण २३, २०८० | पर्सा

गत आर्थिक वर्षमा पर्साको वीरगञ्ज नाकाबाट हुने सबै खाले इन्धनको आयात घटेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन, एलपी ग्यासको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेख्य रुपमा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सो नाका हुँदै १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको १३ लाख २२ हजार किलोलिटर डिजेल आयात भएको थियो । गत वर्ष २०७९/८० मा १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको १० लाख ३० हजार किलोलिटर डिजेल भित्रिएको छ । तुलनात्मक रुपमा डिजेलको आयातमा करीब २२ प्रतिशतले कमी आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, अघिल्लो वर्षमा ३७ अर्ब ९९ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार किलोलिटर पेट्रोल आयात भएकोमा गत वर्ष भने आयात ३५ अर्ब ६८ करोड रुपैयाँमा खुम्चिएको छ । ०७८/७९ मा ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात हुँदा २०७९/८० मा ३३ प्रतिशतले घटेर ३० अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष १२ अर्ब ८५ करोड रुपैयाँ हवाई इन्धन आयात भएकोमा गत वर्ष १५ अर्ब ४२ करोड रुपैयाँमा खुम्चिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ । 


प्रतिक्रिया