किसानलाई अब सोझै अनुदान , ७० लाख अनुदान वितरण हुने

पुस २४, २०८०
कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी ६ सय किसानले माग गरेका छन् । विगतमा ब्यवसायिक फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने गरिएकोमा यस वर्ष देखि सोझै किसानले अनुदान पाउने भएपछि अनुदान माग गर्ने किसानको संख्या बढेको हो । यस वर्ष कृषि ज्ञान केन्द्रले जिल्लामा ७० लाख रुपैयाँ बराबर अनुदान रकम बितरण गर्ने कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो ।
प्रदेश सरकारले अनुदान वितरण कार्यविधि शंसोधन गरेर किसानले सोझै स्थानीय तहको सिफारिसको आधारमा निवेदन दिएका हुन् । अधिकांश किसानले मोटर, पम्पसेट, सिँचाई कुलो, पोखरी, स्यालो ट्युबेल, डिप बोरिङ्गका लागि निवेदन दिएका छन् । सो प्रकृयाबाट सामान्य किसान पनि लाभान्वित हुने आशा गरीएको छ । कृषि विकास कार्यक्रम अन्र्तगत पुर्वाधारमा कुल लागतको अधिकतम ७५ प्रतिशत र अन्यको हकमा अधिकतम ५० प्रतिशत अनुदान उपलब्ध गराईने छ । समुह तथा सहकारीको हकमा अधिकतम ५ लाख र व्यक्तिगत फर्म वा कम्पनीको हकमा १ लाख ५० हजार सम्म अनुदान दिन सकीने प्रावधान छ ।