लमजुङको मध्यनेपालका बंगुरमा अफ्रिकन स्वाइन फिभर, मर्न थाले बंगुर

लमजुङको मध्यनेपाल नगरपालिका–४ मा खोरमा पालिएको बंगुर मरेपछि परीक्षणका लागि नमुना संकलन गरिँदै । 

माघ २१, २०८० | लमजुङ

मध्यनेपाल नगरपालिका–४ को फर्ममा पालिएका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । यो रोग घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने पशु चिकित्सकहरु बताउँछन् । 

गत आइतबार ३ वटा बंगुर मरेकोमा परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । र्‍यापडि एन्टिजेन टेष्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएकोमा पीसीआर प्रविधिबाट परीक्षणका लागि नमूना संकलन गरेर पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशाला पोखरा पठाएकोमा अफ्रिकन स्वाइन फिभर भएको थप पुष्टि भएको केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी पशु सेवा प्राविधिक सुस्मिता अधिकारीले शनिबारसम्म १४ वटा बंगुर मरिसकेको र ५ वटा बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार बिरामी हुने क्रम र मर्ने क्रम बढ्दै गएको छ ।

गतवर्ष बेंसीसहरमा देखिएको यो रोगका कारण एउटै फर्ममा डेढ सय बंगुर मरेका थिए । केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएसँगै मध्य नेपाल नगरपालिका र बेंसीशहर नगरपालिकाले उच्च सतकर्ता अपनाएका छन् । 

सार्वजनिक सूचना जारी गरेर बंगुर र बंगुरजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाएको छ । मध्यनेपाल र बेंसीसहरले उच्च सतर्कता अपनाएपछि केन्द्रले लमजुङका बाँकी २ नगरपालिका र ४ नगरपालिकालाई बंगुर र बंगुरजन्य चौपायमा देखिने अफ्रिकन स्वाइन फिभर बारे उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

केन्द्रले सबै पालिकाका पशु सेवा शाखालाई उच्च सतर्कता अपनाउन पत्राचार गरेको छ । बंगुरजन्य पदार्थको ओसारपसार प्रतिबन्धको जानकारी र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ । 

केन्द्रका निमित्त प्रमुख पशु चिकित्सक डा. मिलन पौडेलले सुन्दरबजार नगरपालिका र राइनास नगरपालिका साथै मस्र्याङ्दी, दोर्दी, दूधपोखरी र क्व्होलासोथार गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर बारे उच्च सतर्कता अपनाउन आग्रह गर्दै पत्राचार गरिएको बताउनुभयो ।

अफ्रिकन स्वाइन फिवर मध्यनेपाल नगरपालिका–४ को बंगुर फार्ममा देखिएकाले यो रोग छिट्टै महामारीको रुपमा फैलिन सक्ने आकलन गरिएको छ । यसबाट पशु धनको नोक्सान हुन नदिन कृषकहरुलाई सचेत गराउन, जैविक सुरक्षाका बारे जानकारी गराउन, रोग बारे जनचेतना फैलाउन र बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसार आवश्यक नियन्त्रण गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म कुनै खोप वा औषधि नभएकाले संक्रमण फैलन नदिन बंगुर खोर अर्थात फार्म परिसरमा नियमित सरसफाई गर्न, बंगुर मरेमा सुरक्षित तवरले खाडलमा गाड्न पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

डा. न्यौपानेका अनुसार रोग देखिएका बंगुर तथा पाठापाठीमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पखला लाग्ने, छट्पटाउने जस्ता लक्षण देखिन्छन्

उहाँका अनुसार रोगी बंगुर वा पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यो रोग सजिलै सर्छ । उहाँले भन्नुभयो, ‘जैविक सुरक्षाका विधिहरु अपनाउनु नै यो रोगबाट बच्नु र बचाउनु हो ।’ यही रोग मानिसमा सरेकोबारे हालसम्म जानकारी नभएको डा. न्यौपानेले बताउनुभयो ।

यसबाट बच्न नियमित रुपमा फार्म वा खोर वरपर चुना, फिनेल वा भिर्कोन छर्न, रोगको लक्ष्ण देखापरेमा बंगुरलाई बथानबाट छुट्याएर राख्न, बंगुर मरेमा राम्रोसंग खाड्ल खनेर गाड्न र बंगुरमा समस्या देखिएमा नजिकको पशु सेवा शाखा वा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न स्थानीय तहको पशु सेवा शाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया