दुग्ध उत्पादक किसानका १५ संगठनद्वारा आन्दोलन घोषणा

फाल्गुन १०, २०८० | काठमाडौं

दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै किसान संगठनहरुले आन्दोलन घोषणा गरेका छन् । 

१५ वटा किसान संगठनहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

 नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ,राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

 दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि वाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेले बताउनुभयो । 

घिमिरेले लम्पी स्किन रोगका कारण ७५ अर्बभन्दा बढीको क्षति व्यहोरेका पशुपालक किसानले भूक्तानी पाउनुपर्ने करिब ६ अर्ब रुपैयाँसमेत सरकारले वक्यौता राखेर किसानलाई समस्यामा पारेको टिप्पणी गर्नुभयो । १५ संगठनले संयुक्त रुपमा फागुन १० देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

दुधको भूक्तानी नपाए जिल्ला बन्द गर्नै चेतावनी

यसैबीच, दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप चितवनका दुग्ध उत्पादक किसानहरुले जिल्ला बन्द गर्ने चेतावनी दिएका छन् ।

 भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै गत फागुन ६ गते भरतपुर बसपार्क चोकमा दूध पोखेर आन्दोलन गरेका किसानहरुले प्रदेश र संघीय सरकारले आफूहरुको माग वेवास्ता गरेको भन्दै जिल्ला बन्दको चेतावनी दिएका हुन् ।

 भारतीय दुधले बजार पाउँदा स्वदेशमा उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको रकम समेत नपाएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले रेडियो कान्तिपुरलाई बताउनुभयो ।

 बगालेका अनुसार दशैं अघिबाट किसानहरुको भुक्तानी रोकिएको छ भने भुक्तानी पाउन बाँकी रकम चितवनमा मात्रै ५२ करोड रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया