मोडेल एग्रो भिलेज बर्दिवासमा नमूना खेती (तस्बिरहरु)

फाल्गुन १३, २०८० | महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिकाको महत्वकांक्षी योजना मेयर कृषि कार्यक्रम अन्तर्गत सुरु भएको मोडेल एग्रो भिलेजमा नमूना संरक्षित खेती प्रणलीबाट उत्पादन सुरु भएको छ ।
बर्दिवासमा होल्याण्ड प्रविधिबाट नमूना खेती प्रणाली सुरु गरिएको सिल्भर लाईन मोडेल एग्रो प्रालिका प्रमुख साधुराम सिंह बस्नेतले बताउनुभयो । बर्दिवासमा सुरु भएको नमूना संरक्षित खेती प्रणाली नेपालमै पहिलो पटक सुरु भएको बस्नेतको दाबी छ ।

मोडेल एग्रो भिलेज बर्दिवासमा सुरु भएको हरितगृह (ग्रिन भिलेज) मा हरेक बोटबिरुवा उत्पादनका लागि आवश्यक मौसम र वातावरण मिलाउन सकिने अन्याधुनिक प्रविधि जडान गरिएको बस्नेतले जानकारी दिनुभयो ।

एग्रो प्रालिले मोडेल एग्रो भिलेज भित्रको साढे सात बिघा जग्गामा अहिले नर्सरी, अनुसन्धान केन्द्र निर्माणसँगै बेमौसमी तरकारी खेती सुरु गरेको छ । नगरपालिकासँग २० वर्षको सम्झौतापछि काम अघि बढाएको एग्रो प्रालिले जनाएको छ ।


अहिले ४ बिघा क्षेत्रमा अत्याधुनिक प्रविधि जडान गरी ४ वटा हरित गृह निर्माण भएका छन् । हरित गृहसँगै एउटा अध्ययन केन्द्र पनि एग्रो प्रालिले निर्माण गरेको छ । नेपालमै नयाँ र चाखलाग्दो प्रविधि भएकाले किसान र सरोकारवालले हरित गृहको प्रविधि र उत्पादनलाई निकै उत्साहका साथ हेरेका बस्नेतको भनाई छ ।