पर्यटन प्रवर्द्धनमा व्यवसायी एकजुट हुनुपर्नेमा जोड

फाल्गुन १५, २०८० | तिलोत्तमा

लुम्बिनीका होटल व्यवसायीहरुले पर्यटन व्यवसाय उकास्नका लागि लगानीकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका छन् । व्यवसायीले नेपालमा पर्यटनको विकास गर्न आफूहरुबाटै प्रोमोटिङ इच अदर (पर्यटन प्रवद्र्धनमा व्यवसायी एकजुट) को नारा अंगाल्नुपर्ने बताएका हुन् । 

सबैभन्दा सम्भावना बोकेको होटल व्यवसायलाई राज्यले उपेक्षा गरेकाले व्यवसायीको लगानी सुनिश्चित गर्दै पर्यटकलाई सहजै नेपाल भित्र्याउने बाटो खुला गर्नुपर्ने उनीहरुले बताए । 

सोमबार बुटवलमा आयोजित कार्यक्रममा नेपलिज होटेलियर्स एसोसिएसन लुम्बिनीका अध्यक्ष प्रवीण बहादुर पाठकले होटेल व्यवसायलाई थप गुण्स्तरिय, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आफूहरु अघि बढेको बताउनुभयो । 

१ सय भन्दा बढी भाषा, विभिन्न जातजाति एवं परिकारका स्वादको धनी नेपालमा वार्षिक १० लाख मात्रै पर्यटक आउँदा खुसी हुनुपर्ने स्थिति आउनु खर्बौंको लगानी रहेको होटेल व्यवसायको निम्ति लज्जास्पद अवस्था रहेको उहाँको टिप्पणी थियो । नेपालमा पर्यटक आगमन सस्तो नभई उत्कृष्ट गन्तव्य हो भनेर चिनाउने बाटोमा आफू लाग्ने उहाँको भनाई छ । 

एसोसिएसनले राज्यको व्यवस्थापन, नीति एवं कार्यान्वयनको पाटोलाई घच्घच्याई पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको रुपन्देहीमा पर्यटक अड्याउने उपायको अध्ययन गरी सम्बन्धित निकायसँग सहकार्यका लागि प्रयासरत रहेको जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, ६ लेन सडक, लुम्बिनी, जितगढी किल्ला लगायत पूर्वाधार र पर्यटकीय स्थलले रुपन्देही होटेल व्यवसायको हब बनिसकेको उपाध्यक्ष दिलीप गौचनले बताउनुभयो । तर, राज्यको अपरिमार्जित नीति नियम, कानून र पूर्वाधार पूर्ण रुपमा सञ्चालन हुन नसक्दा होटेल क्षेत्र पर्यटक अभावको चपेटामा परेको उहाँको भनाई छ ।

कोरोना अघि बेलहिया नाकाबाट डेढ करोड पर्यटक जिल्लामा आएकामा त्यसयता ८० हजार मात्रै प्रवेश गरेकाले होटेल व्यवसाय संकटमा परेको र धेरै व्यवसायी धराशयी बनिसकेको उहाँले गुनासो गर्नुभयो । 

‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन र हाम्रो खर्बौंको लगानी जोगाउन सरकारसँग बुँदागत माग नै राखेर प्रशासन, प्रहरी, संघीय निकाय पुगिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘देशको समृद्धिको मुख्य स्तम्भ होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, अध्यागमन र नाकामा पर्यटकले व्यहोर्नुपरेको झनझट हटाइदिने, प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउँठाउँमा सूचना केन्द्र स्थापना गरी जानकारी दिनुपर्ने लगायत माग हाम्रो छ ।’

त्यस्तै, प्रदेशका हिल स्टेशनमा भारतीय एवं अन्य पर्यटकलाई आकर्षित गर्न शसस्त्र युद्ध प्रभावित क्षेत्रमा गुरिल्ला ट्रेक र युद्ध संग्रहालय निर्माण गरेर पनि पर्यटक भित्र्याउन सकिने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको गौचनले बताउनुभयो । 

साथै रुपन्देहीमा रात्रिकालीन व्यवसाय सञ्चालन, क्यासिनो तथा नाइट क्लबको हब बनाई वेडिङ डेष्टिनेशनको रुपमा विकास गर्न भारु २५ हजार भन्दा धेरै ल्याउन पाउनुपर्ने सुविधा समेत खुला गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

लुम्बिनी प्रदेशका ४० होटल व्यवसायी संगठित रहेको एसोसिएसनमा पर्यटकीय स्तरका होटेल आवद्ध रहेका छन् । व्यवसायीले आफूहरुमा समेत कमी कमजोरी रहेकाले त्यसलाई सच्याउँदै राज्यलाई यस क्षेत्रको महत्व बुझाई हरेक नीतिको परिमार्जन सहित कार्यान्वयनको पक्षमा ल्याई छाड्न आफूहरु प्रयासरत रहेको बताएका छन् । 


प्रतिक्रिया