कुखुरा पालन परियोजनाको लागि यूएसएआईडीको साझेदारी कार्यक्रम सुरु

चैत्र १, २०८० | तिलोत्तमा

लुम्बिनी प्रदेशमा कुखुरापालन परियोजनाको लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले साझेदारी कार्यक्रम सुुरुवात गरेको छ । 

यूएसएआईडीले बुधबार रुपन्देहीको बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेशमा कुखुरापालन परियोजनाको लागि साझेदारी कार्यक्रम सुुरु गरिएको जानकारी दिइएको हो । 

कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्वपूर्ण सहकार्यात्मक प्रयासमा जोड दिँदै यो परियोजना सुरु गरेको जनाएको छ । 

नेपाली कम्पनी श्रीनगर एग्रिटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय यूएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायको आयमा वृद्धि गर्न सघाउ पुर्‍याउने विश्वास गरिएको छ । 

कुखुरापालन उद्योगले आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्वपूर्ण रहेको छ ।

नेपालको ग्रामीण अर्थतन्त्रमा कुखुरापालनले विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई स्वरोजगारका अवसर प्रदान गर्दछ । त्यस्तैगरी कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रलाई समेत समर्थन गर्दछ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल लगायत यस क्षेत्रको स्थानीय तहका जनप्रतिनीधिको उपस्थितिमा सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 

त्यस्तै, यूएसएआईडी नेपालका कार्यवाहक निर्देशक कारेनवेल्शले यसको महत्वमाथि प्रकाश पार्दै यस परियोजनाले नेपालको कृषि क्षेत्रको रुपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताउनुभयो ।

समारोहमा उपस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसनमिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न यूएसएआईडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिनुभयो । 

सन् २०११ देखि हालसम्म यूएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलर भन्दा बढी लगानी गरी आठ लाख भन्दा धेरै नेपालीलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्री मार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याएको छ ।


प्रतिक्रिया