यात्रु नपाएपछि भंगाहाबाट रित्तै फर्किन्छ रेल

चैत्र २०, २०८० | महोत्तरी

महोत्तरीमा २१ वर्षपछि फर्किएको रेलमा यात्रु नभएपछि भंगाहाको विजलपुरा स्टेशनबाट रेल रित्तै फर्किने गरेको छ । गत असारबाट जयनगर–जनकपुर–भंगाहासम्म चल्न थालेको रेलमा यात्रु नहुँदा १३ सय ५० यात्रु बोक्ने क्षमताको रेल जनकपुरबाट रित्तै आउने जाने गरिरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । 

‘मानिसहरुमा उत्साहनै देखिएन खै किन हो, हामी पनि छक्क परेका छौ’ रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भन्नुभयो, ‘अहिले रेल रित्तै आउने जाने गरिरहेको छ’ । 

भंगाहा आउने जाने यात्रु मुस्किलले दिनमा १० जना हुने गरेका उहाँले बताउनुभयो । यात्रु बढाउन रेललाई जतिसक्यो छिटो बर्दिवाससम्म पुर्‍याउनु पर्ने देखिएकाले बर्दिवास तर्फको काम अघि बढाउने अन्तिम तयारी भईरहेको रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

रेलका कर्मचारी, प्राविधिक र चालकको तलब सुविधा सहित रेल सञ्चालन गर्न महिनामा लाखौँ रकम राज्य कोषबाटै खर्च भईरहेको भएपनि यात्रु अभाव हुँदा रेल सञ्चालनका लागि इन्धन खर्च समेत उठ्न नसकेको रेल्वे कम्पनीले जनाएको छ । 

रेल जनकपुरमै राख्ने हो भने रेलमार्गमा लाखौँको सामग्री चोरी हुने भएकाले सुरक्षाका लागि समेत काम सम्पन्न गरेर उद्घाटन भईसकेको क्षेत्रमा घाटामै भएपनि भंगाहा सम्मनै रेल चलाउनुपर्ने बाध्यता रहेको झाले बताउनुभयो ।

दैनिक १० हजार बढी रेलको इन्धन खर्च लाग्ने भएपनि आम्दानी (टिकट भाडा) बापत दिनको ४ हजार उठ्ने गरेको झाले जानकारी दिनुभयो । नेपाल–भारत सम्झौता अनुसार नेपालका काठ र जडीबुटी भारत लैजाने र उपभोग्य सामग्री नेपाल ल्याउने गरी सन् १९८४ देखि विजलपुरा स्टेशनसम्म रेल सञ्चालन सुरु भएको थियो । 

हाल यात्रुमात्रै बोकिरहेको रेलले अबको एक महिना भित्रै धनुषाको कुर्थासम्म मालबाहाक समेत सञ्चालन गर्ने तयारी भईरहेको झाले जानकारी दिनुभयो । जयनगर–विजलपुरा स्टेशसनसम्म ५२ किलोमिटर रेल सञ्चालनमा आएपछि स्थानीय भने रेलको सेवाबाट आफूहरुलाई सुविधा नभएको बताउँछन् । 

नेपाल रेल्वेका अनुसार बिहान ७ बजे भंगाहाबाट छुट्ने रेल जयनगर–जनकपुर २ पटक आवतजावत गरेपछि साँझ ७ बजे मात्रै भंगाहा फर्किन्छ । स्थानीयले रेल पटक पटक आउनेजाने गरे मात्रै सुविधा हुने बताउँदै आएका छन् । 

भोको पेटले बिहान रेलमा हिँडेको मान्छे बेलुका ७ बजेमात्रै फर्किने भएपछि रेल भन्दा अन्य सवारीबाटै जनकपुर जान आउन छिटो र सजिलो हुने भंगाहा–५ की देवति साहले बताईन् ।

रेल्वे कम्पनीले अहिले दैनिक एकपटक मात्रै भंगाहासम्म रेल सञ्चालन गरिरहेको छ । तर, भंगाहावासी भने कम्तीमा दैनिक दुई पटक रेल सञ्चालन हुनुपर्ने बताउँछन् । 

९ वर्षदेखि मुआव्जा विवादका कारण भंगाहाको विजलपुरा स्टेशनमा रोकिएको काम बर्दिवाससम्मै पूरा हुनुपर्ने तथा भारत र नेपालको व्यापार जोडिएपछि मात्रै रेललाई विकास मान्न सकिने बर्दिवासका व्यवसायीहरु बताउँछन् ।

बर्दिवासबाट रेल चल्न थालेपछि जनकपुर–जयनगर यात्रु भएनन् भन्नुपर्ने अहिलेको अवस्था अन्त्य हुने बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । 

रेलले दिने सेवाका आधारमा पनि यात्रु जोडिने भएकाले मालबहाक सहितको यात्रु सेवा रेलले दिने र दुबै देशका उत्पादन, बजार र व्यापार व्यवसायलाई समेत जोड्दै जानसके आम मानिसको जीवनस्तरमा फेरबदल हुनसक्ने खड्काको भनाई छ । 

रेल्वे सेवाको बिस्तारले नेपाल–भारत र जनस्तरसम्म थप सम्बन्ध राम्रो बन्दै जाने विश्वास उहाँको थियो । भारत सरकारको १२ सय ५४ करोड लगानीमा नेपालमा भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेशनलले रेल्वे ट्रयाक निर्माणको काम गर्दै आइरहेको छ ।


प्रतिक्रिया