बुटवलका किसानलाई अनुदानमा भैँसीको पाडी वितरण

असार १७, २०८१ | तिलोत्तमा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले किसानलाई पाडी वितरण गरेको छ । दुग्ध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरु गरिएको उपमहानगर नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । 

उहाँका अनुसार आइतबार बुटवलको वडा नम्बर १२, १५ र १६ का किसानलाई ३३ वटा पाडी वितरण गरिएको छ । उपमहानगर नगर प्रमुख पाण्डेयले बुटवललाई दुग्ध उत्पादनमा सबल बनाउनका लागि बीमा गरेर भैँसीका पाडी वितरण गरिएको बताउनुभयो । 

बुटवललाई दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनुभयो । 

उहाँका अनुसार चालू आर्थिक वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् । बुटवलले यसअघि किसानलाई दुग्ध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । 

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रिजेरेशन युनिट, कन्ट्रोल प्यानल सहितको मेसिन उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया