थप ५७ हिमाल आरोहणका लागि खुला, प्रवर्धनको अभावमा ओझेलमा पर्ने चिन्ता
कार्तिक ११, २०८१ | काठमाडौं
नेपालको पर्यटनको अभिन्न पाटो हो, हिमाल । हिमालका कारण नेपाल अन्तर्राष्ट्रिय समुदायमा हिमालको देश, सगरमाथाको देश जस्ता उपमाले परिचित छ । यही चिनारीले नेपालको पर्यटन प्रवर्धनमा पनि सघाइरहेको छ ।
प्रख्यात फ्रान्सेली आरोही मौरिस हर्जोग र लुईस लेचेनलले सन् १९५० जुन ३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए ।
अन्नपूर्ण आरोहणको करीब तीन वर्षपछि सन् १९५३ मे २९ मा न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिग नोर्गे शेर्पाले सगरमाथाको समेत सफल आरोहण गरे । नेपालको पर्वतीय पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु भएको मानिन्छ ।
अहिले पनि मुलुकको प्रमुख पर्यटकीय प्रडक्ट हिमाल आरोहण नै बनेको छ । यसैलाई ध्यानमा राख्दै नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।
गत असोज २१ गतेको मन्त्रिपरिषद् बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो । योसँगै नेपालमा कुल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएका छन् ।
पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो ।