खाद्य वीरगन्ज शाखाले विहिबार देखि धान खरिद गर्ने

मंसिर १८, २०८१

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले पर्सी विहिबार देखि किसानको धान खरिद गर्ने भएको छ । शाखाका सूचना अधिकृत समिर दाहालका अनुसार, यस बर्ष जिरा मसिनो धान प्रति क्विन्टल ४ हजार र सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैया ६२ पैसामा खरिद गरिने भएको छ । 

जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरे लगत्तै धान खरिद सुरु गर्न लागिएको उहाँले बताउनुभयो । सोना मन्सुली धानको समर्थन मूल्य यस अघिनै संघिय सरकारले प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैया ६२ पैसा निर्धारण गरी सकेको छ ।

यस बर्ष केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएको पनि दाहालले बताउनुभयो । ४२ हजार क्विन्टल कोटा मध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा प्राप्त भएको हो ।

धान बिक्री गर्न आउने किसानले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शाखाले आवश्यक ठानेमा सम्बन्धित पालिकाको कृषि शाखाले किसान प्रमाणित गरेको सिफारिश पनि ल्याउनु पर्ने छ । व्यापारी तथा बिचौलियालाई निरुत्साहित गर्न यसो गरिएको दाहालले बताउनुभयो ।

गत बर्ष निजि क्षेत्रले भन्दा खाद्यले कम मूल्य दिएपछि किसानले धान नल्याउदा खाद्य वीरगन्ज शाखाले धान खरिद गर्न सकेको थिएन । 


प्रतिक्रिया