रेसुङ्गा विमानस्थल एक महिनादेखि बन्द

माघ ६, २०८१ | गुल्मी

नेपाल वायु सेवा निगमको तथ्यांकमा देशमै धेरै यात्रुको चाप रहेको गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाइ सेवा बन्द भएको छ । उडान भर्दै आएको नेपाल वायु सेवा निगमसँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि हवाई सेवा बन्द भएको हो । 

हप्तामा ४ वटासम्म उडान हुने गरेको विमानस्थलमा जहाजका कारण उडान बन्द भएको नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो । ‘हप्ताको चार वटासम्म उडान हुँदा पनि प्यासेञ्जर फ्लो धेरै हुने हाम्रो (रेसुङ्गा) विमानस्थल भोजपुरपछि देशमै सबैभन्दा राम्रो मध्येको थियो’, उहाँले भन्नुभयो, ‘अहिले डोमेस्टिक फ्लाइटका दुईवटा ट्विनअटरको इन्जिनको साइकल सकिएर ग्राउण्डेड भएपछि बन्द छ ।’

थापाका अनुसार १९ सिट क्षमताको विमान सँधै भरिभराउ हुने गरेको थियो । जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । निगमले काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौंका लागि सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको थियो ।

निर्माण सुरु भएको १६ वर्षपछि २०८० बैशाख २९ गतेबाट नियमित उडान सुरु भएको विमानस्थलमा ९० वटा उडान भएका थिए । गुल्मीबाट १ हजार १ सय ६५ जना र काठमाडौंबाट १ हजार ८८ जना यात्रुले यात्रा गरेको विमानस्थलले जनाएको छ । सो अवधिमा करीब १ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी भएको विमानस्थलका स्टेशन प्रमुख थापाले जानकारी दिनुभयो ।

रेसुङ्गा विमानस्थल २०६३ सालमा शिलान्यास भएर २०७१ देखि निर्माण शुरु भई १६ वर्षपछि २०७९ पुसमा मात्र निर्माण सम्पन्न भएको थियो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको धावनमार्गको लम्बाई ५ सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाईमा रहेको छ ।

निगमका ट्विनअटर जहाजको नयाँ इन्जिन फेर्न केही हप्ता लाग्ने जानकारी आफूले पाएको स्टेशन प्रमुख थापाको भनाई छ । पहाडी जिल्ला गुल्मीबाट पाल्पा हुँदै बाहिर जिल्ला जाने एकमात्र सडक साँघुरो भएको, प्रायः मर्मत गरिरहने र बर्खाको बेला सिद्धबाबा लगायत स्थानमा पहिरो खस्ने भएकोले सडक यात्रा कठीन छ । त्यसैले गुल्मी तथा छिमेकी जिल्ला अर्घाखाँचीका बासिन्दा समेत रेसुङ्गा विमानस्थल हुँदै हवाई यात्राबाट काठमाडौं आउजाउ गर्ने गरेका थिए । तर, २०८० बैशाख २९ गतेदेखि सञ्चालन भएको विमानस्थलमा सुरुमा ६ वटा मात्र उडान भरेर साढे दुई महिनादेखि बन्द र त्यसपछि पटक पटक बन्द हुँदै अहिले १ महिनादेखि ठप्प छ ।

विमानस्थलमा सुरुमा २०७९ पुस २४ मा तारा एयरको जहाजले परिक्षण उडान गरेर नियमित उडान गर्ने भनिएको थियो । पछि यात्रुलाई सहज र सस्तो सेवाका लागि वायुसेवा निगमसँग सम्झौता गरी नियमति उडान गरिएको थियो । तर, सहज हुने भनिएको सरकारी स्वामित्वको निगम स्वार्थमा डुब्दा यात्रु समेत मर्कामा परेका छन् ।


प्रतिक्रिया