बुटवल-गोरुसिंगे सडक निर्माण सुरु, प्रधानमन्त्रीद्वारा भर्चुअल शिलान्यास
माघ १२, २०८१ | बुटवल
बुटवल गोरुसिंगे सडक विस्तारको काम सुरु भएको छ । बुटवलदेखि गोरुसिंगेसम्मको झण्डै ५० किलोमिटर सडकको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट बुटवल–१३ जिगतढीमा शिलन्यास गर्नुभयो । सडकको शिलन्यासँगै निर्माणको काम सुरु भएको आयोजनाले जनाएको छ ।
आयोजनाको भर्चुअल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले तिन वर्ष भित्रै बुटवल गोरुसिंगे सडक विस्तारको काम सम्पन्न हुने बताउनुभयो । उहाँले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको पनि बताउनुभयो । ‘हामी देश विकासमा धेरै अघि बढीसकेका छौं,’ उहाँले भन्नुभयो, ‘सुरुङ मार्ग, प्रशासनिक भवन, सडकका ठूला आयोजना समयमै सम्पन्न गर्ने र त्यसलको प्रतिफल जनताले पाउने अवस्था सुरु भएको छ ।’
प्रधानमन्त्री ओलीले बुटवल–गोरुसिंगे सडक पनि आगामी तीन वर्ष भित्रमै सक्ने गरी निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको विकासमा हामी उच्च सङ्कल्प र आँटका साथ देशको विकास हामीहरू आफैले गरिरहेका छौं ।’
सडक शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि चीनका राजदुत चेन सोङलगायतको भने प्रत्यक्ष उपस्थिति थियो । कार्यक्रममा उनीहरुले पनि सम्बोधन गर्दै सडक तोकिएको समयमै नागरिकलाई सास्ती नहुने गरी निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका थिए ।
राजा महेन्द्रका पाला २०१९ सालमा निर्माण भएको पूर्वपश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडकखण्ड ६२ वर्षपछि बिस्तार हुन लागेको हो । सुरुमा एक लेनमा निर्माण गरिएको सडक २०३५/३६ सालमा दुई लेनमा विस्तार भएको थियो । बुटवलदेखि चन्द्रौटासम्म एशियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झण्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा बिस्तार हुनेछ ।
पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झण्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दुरीको गोरुसिंगे चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । बुटवलदेखि गोरुसिंगे खण्डमा रुखको मार्किङ, विद्युत पोलको व्यवस्थापन, माटो, ढुंगा, गिटी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्रीहरुको व्यवस्थापन र सडकको नापजाँच गर्ने काम सकेर शुक्रबार शिलान्यास गरिएको हो ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर पास/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ ।
सडक क्षेत्रमा पर्ने ७ हजार बढी रुखहरु काटिएको बुटवल–गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताउनुभयो । ‘सडक निर्माणका लागि निर्माण कम्पनीसँग १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैंयाँमा सम्झौता भएर काम अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘३ वर्ष भित्र काम सक्ने गरी निर्माण गर्न कम्पनीले काम सुरु गरेको हो ।’ सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ ।