क्यान इन्फोटेक मेलाः एआई क्षेत्रमा विद्यार्थीको चासो

माघ २८, २०८१ | काठमाडौं
क्यान इन्फोटेक मेलामा विद्यार्थीहरुको कृतिम बुद्धिमता अर्थात एआइ सम्बन्धीका वस्तु तथा सेवामा बढी चासो रहेको पाइएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग सम्बन्ध स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको मेलामा विद्यार्थीले एआइ सम्बन्धी वस्तु तथा सेवामा बढी चासो देखाएका हुन् ।
विश्वमा बढ्दो प्रविधिको विकाससँगै नेपालमा पनि यसको प्रभाव परेको हो । विश्वव्यापी रुपमा आएको एआई र डिपसिकको प्रभाव नेपालमा पनि परेका कारण सरकारले एआई सम्बन्धी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष चिरन्जीवी अधिकारीले बताउनुभयो । सफ्टवेयर निर्माणका लागि नेपालमा प्रचुर सम्भावना भएपनि राज्यले नीति नबनाउँदा गति लिन नसकेको उहाँको भनाई थियो ।
त्यस्तै गत २४ गते देखि सुरु भएको क्यान इन्फोटेक मेलाको१ लाख ७० हजार भन्दा बढीले अवलोकन गरेका छन् । मेलामा १ सय ५० वटा स्टल राखिएको थियो । पाँच दिन चलेको मेला आज सकिएको छ । क्यानले हरेक वर्ष क्यान इन्फोटेक मेला गर्दै आएको छ ।