मर्मतका लागि माथिल्लो मर्स्याङदी ‘ए’ उत्पादन बन्द

मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेमा निर्माण गरिएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को ड्याम साइड मर्मत गरिँदै । तस्बिरः रेडियो कान्तिपुर । 

फाल्गुन ५, २०८१ | लमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको छ ।

हिउँदको समय हाल २८ मेगावाट उत्पादन भइरहेको बेला नेपाल विद्युत प्राधिकरणसंग अनुमति मागेर ‘सर्टडाउन’ गरी मर्मत थालिएको आयोजनाले जनाएको छ ।

आयोजनाका जनसम्पर्क अधिकारी कर्ण अधिकारीले विद्युत उत्पादन बन्द गरेर मर्मतकार्य सुरु गरिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार मर्मत कार्य चिनियाँ कम्पनीको मातहातमा भइरहेको छ । मर्मत कार्य प्राविधिक भएकाले अरु धेरै थाह नभएको उहाँले बताउनुभयो ।

आयोजनाले शनिबारदेखि शुक्रबारसम्म कार्ययोजना बनाएर विद्युत गृहको मर्मत थालेको छ । यसका लागि विद्युत उत्पादन बन्द गरिएको छ । २ सातायता ड्याम क्षेत्रको मर्मत गरिरहेको छ । यो कार्य कम्तीमा ३ महिना चल्ने तर, विद्युत उत्पादन बन्द गर्न नपर्ने आयोजना स्रोतले बतायो ।

ड्याम क्षेत्रमा चिनियाँ कम्पनी ‘व्युरो सेभेन’ ले नेपाली निर्माण व्यावसायीमार्फत मर्मत गरिरहेको छ । विद्युत गृहमा टर्वाइन मर्मतदेखि अन्य कामहरु चिनियाँ विशेषज्ञ इन्जिनियरसहित प्राविधिक टीमले काम गरिरहेको छ । यसमा चिनियाँ मात्रै छ । ‘मर्स्याङ्दीमा आएको बाढीले टर्वाइनमा बालुवाका कणहरु थुप्रिएर क्षति पुर्‍याएको छ । बालुवाका कणहरु झिकेर मर्मत भइरहेको छ’ आयोजना स्रोतले भन्यो । आयोजनामा २ वटा फ्रान्सिस टर्वाइन रहेकोमा फेर्नुपर्ने अवस्था भने नरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो बर्सेनि गर्ने नियमित मर्मत हो ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत चिनियाँ लगानीबाट नेपालमा पहिलोपटक निर्मित जलविद्युत आयोजना हो । बर्खायाममा मर्स्याङ्दीमा आउने बाढीका कारण आयोजनामा क्षति हुन पुगेर बेला–बेला आयोजना मर्मत गरिँदै आएको छ ।

आयोजना स्रोतका अनुसार दैनिक १० लाख युनिट बढी विद्युत उत्पादन हुने सो आयोजना १ घण्टामात्रै बन्द हुँदा ५ लाख घाटा पर्छ । १ दिन (२४ घण्टा) बन्द हुँदा करीब १ करोड २० लाख घाटा पर्न जाने आयोजना स्रोतले जनाएको छ । 

करीब १६ अर्ब रुपैयाँ लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जविद्युत आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी छ । सन् २०१३ को जनवरीमा सुरु भएर ४ बर्षमा निर्माण सकिएपछि आयोजनाले २०१७ जनवरीबाट व्यवसायिक विद्युत् उत्पादन थालेको थियो ।


प्रतिक्रिया