लुम्बिनी सरकारको बजेट खर्च ७२ प्रतिशत मात्र

असार २८, २०८२ | बुटवल

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट मध्ये असार २५ गतेसम्ममा ७२ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले चालू आवका लागि ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो । सो बजेट मध्ये बुधबारसम्ममा २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३ सय २० रुपैंयाँया मात्र खर्च गरेको हो ।

लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पूँजीगततर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । यो बजेटको ७२ दशमलव ८७ प्रतिशत हो । त्यस्तै, चालूतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ विनियोजन भएकोमा १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१ दशमलव ६८ प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले असारमा मात्र साढे ५ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा ५ अर्ब ५२ करोड ५९ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले सबै भन्दा धेरै बजेट खर्च गरेको छ । मन्त्रालयले विनियोजित कुल बजेटको ८५ दशमलब ४० प्रतिशत खर्च गरेको छ । 

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८ दशमलव ९२ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ६८ दशमलव २० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ६२ दशमलव ६२ प्रतिशत बजेट खर्च गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ७७ दबमलब ०७ प्रतिशत, कृषि, भूमि तथा व्यवस्था मन्त्रालयले ६७ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले ६१ दशमलव ८३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६५ दशमलव ७५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७१ दशमलव ३८ प्रतिशत र स्वास्थ्य मन्त्रालयले ६९ दशलमव ०४ प्रतिशत बजेट खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ६६ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयमा चालू आर्थिक वर्षका लागि १० अर्ब ४८ करोड ७६ लाख १८ हजार रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ७ अर्ब १ करोड ९६ लाख ६४ हजार ५०० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया