मल व्यवस्थापनमा समस्या, ५० हजार टन मल थुप्रियो
फाल्गुन १६, २०८२ | पर्सा
मलको कोटा निर्धारण हुन नसक्दा पर्साको वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा व्यवस्थपन गर्न समस्या भएको छ । प्रत्येक जिल्लालाई मलको कोटा निर्धारण गर्ने मधेश प्रदेश कृषि मन्त्रालयले मलको कोटा निर्धारण नगर्दा व्यवस्थापनमा समस्या हुन थालेको हो ।
कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालय मातहत रहेका सबै गोदाम भरिएपछि थप भित्रिदै गरेको मल भण्डारणका लागि समस्या भएको छ ।
कम्पनी प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार मल भण्डारणका लागि अहिले नयाँ गोदाम खोज्न थालिएको छ । उहाँका अनुसार गोदाममा हाल ३५ हजार टन युरिया, ८ हजार टन डिएपि र ८ हजार टन पोटास गरी करीब ४९ हजार टन मल मौज्दात छ ।








