चक्रीय अन्नपूर्णको विकल्प ‘दोर्दी हिमाल ट्रेक
चैत्र १७, २०८२ | लमजुङ
संघीय सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १ सय कार्यसूची अन्तर्गत बुँदा नं. ७२ मा समेटिएको दोर्दी हिमाल ट्रेकिङ रुट कार्यान्वयनको तयारीले लमजुङको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ ।
व्यवस्थित पर्यटन विकासका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका तयार गर्ने सरकारको योजनासँगै दोर्दी क्षेत्र पुनः चर्चामा आएको हो । मनाङ–मुस्ताङ जोड्ने विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग सडक विस्तारसँगै छोटिँदै जाँदा यसको विकल्प खोज्ने प्रयास तीव्र बनेको छ ।
करिब २१ दिन लाग्ने पदयात्रा एक सातामा सीमित भएपछि नयाँ पदमार्गको खोजी अपरिहार्य बनेको हो । यसै सन्दर्भमा कास्की, लमजुङ र मनाङ जोड्ने गुरुङ हेरिटेज ट्रेल सञ्चालनमा आइसकेको छ । दोर्दी गाउँपालिकाले आफ्नो उच्च हिमाली भेगमा पदमार्ग पहिचानलाई प्राथमिकता दिएको छ ।










