प्रदेश प्रदेशमा गाईजात्रा सुरु

भाद्र १, २०७६ | मोरङ

- ‘अनिकाल व्यहोरेर काल पर्खेर ज्येष्ठ नागरिकहरु बस्नुभएको छ देश ढुकेर,

पासपोर्ट नभएर नागरिकता पर्खेर अनिष्ट नागरिकहरु बस्नुभएको छ उमेर नपुगेर ।

देशलाई गर्ने मान्छे छैन, नागरिकलाई गरिखाने ठाउँ छैन । 

ठेक्कदारहरु विदेशबाट स्वदेश झिकाइन्छ, कामदारहरु स्वदेशबाट विदेश पठाइन्छ । 

चानचुन रकम रेमिट्यान्स बनाएर स्वदेशी बैंकमा ल्याइन्छ, मोटो रकम कमिशन बनाएर विदेशी बैंकमा पठाइन्छ ।’ 

हाँस्यकवि शैलेन्द्र सिम्खडाले यी यस्ता व्यङ्गयात्मक कवितामार्फत मुलुकमा व्याप्त विकृति विसङ्गतिका बारेमा कटु यथार्थ प्रस्तुत गरेका थिए । प्रदेश १ को राजधानी विराटनगरबाट शनिबार साँझ सुरु भएको ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजाक्रा’ कार्यत्रममा सो कविता सिम्खडाले सुनाएका हुन् । 

ब्राण्डवर्थ प्रालीले आयोजना गरेको सो कार्यक्रम सात वटै प्रदेश हुँदै काठमाडौंमा समेत आयोजना गरेर समापन हुनेछ । 

कार्यक्रममा सिम्खडाले देश र समाजमा व्याप्त विकृति बिसङ्गतिको बारेमा व्यङ्गात्मक कविता बाचन गरिरहँदा विराटनगरस्थित बिरेन्द्र सभागृह तालिले गुञ्जयमान भएको थियो । 

ब्यङ्गयात्मक गीतमा रुबिना अधिकारीले प्रस्तुत गरेको नृत्यमा दर्शकहरु झुमिएका थिए । जोगिन्दर पानबाला शिवशंकर रिजाल र मुला साग सुरेन्द्र केसीको प्रहशनले दर्शकको वाहवाही पाएको थियो । उनीहरुले प्रहशनमार्फत मुलुकको राजनीतिक क्षेत्रमा व्याप्त विकृतिप्रति व्यङ्गात्मक प्रहार गरेका थिए । साथै हिमाल, पहाड र तराईबासीबीचको एकता कायम गर्न प्रस्तुत गरिएको प्रहशन हेर्न लायकको थियो । 

कार्यक्रममा हाँस्यकलाकार सुमन कार्की र सुबोध गौतमले राजनेताहरुको सन्देशमूलक क्यारीकेचर रोचक तरिकाले प्रस्तुत गरेका थिए । उनीहरुले सञ्चारमाध्यममा प्रस्तुत हुँदै आएको अन्तर्बार्तामा पत्रकारले सोध्ने प्रश्न र शैलीको बारेमा समेत व्यङ्गात्मक प्रहार गरेका थिए । 

हाँस्य कलाकार मनोज गजुरेल र सन्ध्या बुढाले डोनाल्ड ट्रम्प र काउली बुढीको भूमिकामा देशमा व्याप्त विकृति र बिसङ्गतिको बारेमा गरेको रोचक प्रस्तुतिले दर्शक पेट मिचिमिचि हासेका थिए । 

कलाकार रवि डंगोल र पूर्ण थापाले स्वास्थ्य क्षेत्र र तीन तहका सरकारले लगाएका करले सर्वसाधारणले झेल्दै आएको पीडाको बारेमा ब्यङ्गयात्मक प्रस्तुति दिएका थिए । यमन श्रेष्ठले हाँस्य रस प्रधान गीत प्रस्तुत गरेका थिए । अहिलेका जननिर्वाचित प्रतिनिधिहरुले पत्रकारसँग गर्दै आएको दुर्व्यवहारको बारेमा ‘प्रेस पीट’ प्रहसन गजुरेललगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए । 

काठमाडौं केन्द्रित गाईजाक्रा विशेष कार्यत्रम यस बर्ष सात वटै प्रदेशमा आयोजना गरेर हाँस्यकलाको प्रचारप्रसारका साथै यो पर्वको बारेमा जानकारी गराउने अभियान सुरु गरिएको छ । कलाकार गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले यसलाई देशैभरी चिनाउने प्रयास गरिएको बताए । ‘बिकृति र बिसङ्गति जताजता हुन्छ, हाँस्यब्यङ्गय त्यतैत्यतै जान्छ,’ उनले भने, ‘हास्न पाउनु सबै नेपालीको अधिकार भएकाले मुलुकझर कार्यक्रम गर्न लागिएको हो ।’ 

कार्यत्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जातीय, सांस्कृति, धार्मिक विविधताले भरिएको देशमा सबैले सबैको धर्म र संस्कृतिको बारेमा जान्नु पर्ने र रमाउनु पर्ने वातावरण बनाउनु सबैको दायित्व भएको बताए । ‘कला र संस्कृतिको माध्यमले देश र सममाजमा व्याप्त बिकृति र बिसङ्गतिको कलात्मक तरिकाले प्रस्तुति भइरहेका छन्,’ उनले भने, ‘कलाकारको ब्याङ्गात्मक प्रहारले सबै क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्‍याउँदै आएकाले यसको विकासमा प्रदेश सरकारको साथ रहन्छ ।’ 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईका साथै सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्यहरु, विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीलगायत उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो । 

फोटो

तस्बिर ः देवनारायण साह/कान्तिपुर

 


प्रतिक्रिया