यौनिक अल्पसंख्यकको ‘प्राइड कन्सर्ट’

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७९

यौनिक अल्पसंख्यकहरुको संस्था ब्लु डाइमन्ड सोसाइटीले शुक्रबार काठमाण्डौमा गाईजात्रा विशेष कार्यक्रम गरेको छ । विगत १९ वर्षदेखि प्राइड कन्सर्ट (गौरव यात्रा) गर्दै आएको सोसाइटीले यसपटक पनि निरन्तरता दिएको हो । तेस्रोलिंगी, समलिंगी समुदायलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पनि परीवर्तन आउन सकेको छैन । सोही पीडालाई भुल्न गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गर्व दिवसका रुपमा मनाउदै आएका छन ।  कोरोना माहामारीका कारण पछिल्ला दुई वर्ष पछि भएको कार्यक्रममा उत्साहजनक सहभागिता थियो । कार्यक्रममा सहभागिहरु विभिन्न जातजाति र परम्परागत भेषभूषामा सजिएका थिए । कार्यक्रमलाई नेपालस्थित अमेरिकी दुतावासले संयोजन गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, अमेरिकाको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी प्रमुख जेसिका स्र्टनको पनि सहभागिता थियो । र्‍यालीमा सहभागि स्र्टनले सम्मानपुर्वक बाच्न पाउनु हरेर नागरिकको अधिकार भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि आम नागरिकसरह बाच्न पाउनुपर्ने धारणा राख्नुभयो । 

यस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय नेपालकी प्रमुख पिंकी गुरुङले यहाँसम्म आइपुग्न निकै संघर्ष गर्नुपरेको उल्लेख गर्नूभयो ।ठमेलबाट निस्किएको गाईजात्रा र्‍यालीपछि टुडिखेलमा आयोजित कन्सर्ट कार्यक्रममा विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।


प्रतिक्रिया