सन् २०२२ लाई फर्केर हेर्दा

पुस १६, २०७९ | काठमाडौं

लगातार दुईवर्ष देखि थलिएको विश्वमा सन् २०२२ सामान्य जीवनयापन उन्मुख वर्षका रुपमा सुरु भएको थियो । तर, कोभिड १९ पछि रुसको युक्रेन माथिको सैन्य हस्तक्षेपले विश्वलाई आर्थिक चुनौतीले गाँजेको छ । रुस युक्रेनका कारण उत्पन्न मानवीय संकट सहित महंगी, युद्धको त्रासकाबीच सन् २०२२ बितेको छ ।

सन् २०२२ कोभिड पछि तीव्र विकास, समृद्धि उन्मुख विश्वको परिकल्पना सहित सुरु भएको थियो । कोभिडको कारण विभिन्न म्लुकले खोप अनिवार्य गरेका समय अष्ट्रेलियन ओपन टेनिसमा प्रतिस्पर्धा गर्न रोक्दै अष्ट्रेलिया सरकारले विश्व नम्बर एक नोभाक जोकोभिचलाई नियन्त्रणमा लिएर मुलुकबाट निस्कासन गरेको थियो ।

फेब्रुअरी सुरु भएदेखी नै पश्चिमा देशहरुले रुसले युक्रेन माथि आक्रमण गर्ने आंशका व्यक्त गरेका थिए । तर आधुनिक विश्वमा हुन सक्ने परिकल्पना सम्म नगरिएको घटना भयो । रुसले युक्रेन माथि सैन्य हस्तक्षेप गरेपछि कोभिडले थलिएको विश्व समुदायको सामान्य उन्मुख जीवनमा अर्को चुनौती थपियो ।

विश्वको मुख्य अन्न निर्यातकर्ता युक्रेन र महत्वपूर्ण इन्धन तथा ग्यास निर्यातकर्ता रुसका उत्पादन तथा बजार दुवै प्रभावित भए । युद्धले युक्रेनका लाखौं शरणार्थी भए भने युक्रेनी उत्पादन निर्यात गर्नु असम्भवप्रायः देखियो ।

उता, विभिन्न प्रतिबन्धका कारण रुसी उत्पादन पनि विश्व बजारमा पुग्न पाएको छैन । जसका कारण इन्धनको मुख्य आकासिएर हरेक वस्तुमा मुल्य वृद्धिले सन् २०२२ भरी सामान्य ब्यक्तिको जिवन आक्रान्त रहृयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्न्की सन् २०२२ मा चर्चाका ब्यक्ति बने । मुलुकप्रतिको प्रेम, जेलेस्न्की र युक्रेनी जनताको हिम्मतले विश्वलाई नै शिक्षा प्रदान गरेको छ । किभको आकाशमा भएका आक्रमणका दृश्यहरु विश्वका सञ्चारमाध्यममा छाएको दिन देखि सन् २०२२ को अन्त्य सम्म आइपुग्दा, युद्ध अपराध, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुसको भिटो, खेल कार्यक्रममा रुसको प्रतिबन्धकै समाचारले विश्वका सञ्चारमाध्यममा वर्षभरि नै भरिएका थिए । यसैवर्ष सोभियत युनियनका पूर्व नेता मिखाइल गोर्भाचोभको निधन भयो । सोभियत युनियनलाई विश्व माझ खुला क्षेत्रका रुपमा स्थापित गर्ने प्रयास गरेका गोर्भाचोभलाई पश्चिमाहरुले परिवर्तनका सम्वाहकका रुपमा लिइए पनि मस्कोले खासै महत्व दिएको पाइँदैन ।

अप्रिल महिनामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान माथिको अविस्वासको प्रस्ताव पारित भएपछि विपक्षमा रहेका सहबाज सरिफ सत्तामा आए । मे महिना सुरु भएपछि मंकिपक्स रोगका संक्रमण युरोपका मुलुकहरुमा देखिएपछि अर्को स्वास्थ्य चुनौती उत्पन्न भएको थियो । तर त्यो चुनौती विस्तार सर्तकता तथा सचेतनाका कारण कम गरिएको छ । फिलिपिन्समा पूर्व शासक फर्डिनान्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्को निर्वाचित भए । सोही मे महिनाबाट श्रीलंकाको राजनितिक उथलपुथल सुरु भयो ।

 आर्थिक संकट खेपिरहेको श्रीलंकामा प्रधामन्त्री महिन्दा राजपाक्षेले पदबाट राजिनामा दिएपछि रनिल विक्रमासिंघे सत्तामा आए । जुलाई महिनामा राष्ट्रपति गोताबय राजपाक्षे मुलुक छाडेर भागेपछि विश्वको ध्यान श्रीलंकाली राजनीतिक केन्द्रित भएको थियो । प्रधानमन्त्री विक्रमासिंघे राष्ट्रपतिमा चयन भएपछि त्यहांका राजनीतिक संकट साम्य भएको थियो । 

अगष्ट महिनामा अमेरिकाकी तत्कालिन सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिका सम्बन्धमा चुनौती उत्पन्न गरायो । सन् १९९०को दशक पहिलो पटक अमेरिकाका उच्च पदस्थ ब्यक्ति ताइवान भ्रमणमा गएपछि तनाव उत्कर्षमा पुग्यो । बेइजिंगले ताइवान नजिकको आकाशमा सैन्य हवाई प्रशिक्षण गर्दै चेतावनी दिने प्रयास गरेको थियो । 

भारतको राष्ट्रपतिमो द्रोपदी मुर्मु निर्वाचित हुनुभएको छ । भारतको राष्ट्रपति बन्ने पहिलो आदीवासी महिला बन्दै मुर्मुले इतिहास कायम गर्नुभयो । उता, निकै कम बन्दुक सम्बन्धी अपराध हुने जापानमा पूर्व प्रधानमन्त्री सिन्जो अवेको गोली हानी हत्या गरियो ।

साहित्यकार सलमान रस्दि माथि अमेरिकाको न्युर्योकमा छुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए । सन् २०२२ मा पाकिस्तानमा गएको बाढिका कारण १ हजार भन्दा बढीको मृत्यु भयो । जलवाय् परिवर्तनका कारण भएको भनिएको सो बाढीका कारण लाखौं विस्थापित हुनुका साथै मानविय संकट उत्पन्न भयो । इजिप्टमा भएको कोप २७ सम्मेलनले क्षतिपूर्ती सम्बन्धी अवधारणामा सहमती गरेपनि त्यसको ढाँचामा गृहकार्य अझै बाँकी छ ।

बोरिस जोनसनको राजिनामा पछि बेलायतमा लिज ट्रस प्रधानमन्त्रीमा नियुक्त भइन् । तीन साता लामो उनको प्रधानमन्त्री कालमा जारी गरिएको विवादास्पद आर्थिक नीतिका कारण राजिनामा दिएपछि बेलायतले वर्षमा तेश्रो प्रधानमन्त्री पायो । भारतीय मुलका ऋषि सुनक बेलायती प्रधानमन्त्री हुने पहिलो एसियाली हिन्दु व्यक्ति भए । लिज ट्रस प्रधानमन्त्री भएकै केही दिन पछि बेलायती महारानी एलिजावेथ द्वितियको निधन भयो । 

९६ वर्षिय महारानी एलिजावेथको निधन पछि चार्ल्स दोश्रो बेलयातको राजा बनेका छन् । सन् २०२२ मा बेलायती राजपरिवारमा राजकुमार एन्ड्र्को यौनदुराचारको घटनाका साथै राजकुमार हृयारी र मेगनका समाचार पछि वर्षभरी छाइरहेका थिए ।

इण्डोनेसियाको पूर्वी जाभाको एक फुटबल म्याचका क्रममा भागदौडमा परि १ सय ३१ जनाले सन् २०२२ मा ज्यान गुमाउनुपर्‍यो । सन् २०२२ को अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले राष्ट्रपतिमा सि जिनपिंगलाई अनुमोदन गर्दै उनलाई शक्तिशाली नेताका रुपमा स्थापित गरेको छ । तेश्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति सि माओत्सेतुंग पछिका सबैभन्दा शक्तिशाली चिनिया नेता बनेका हुन् । 

अक्टोबर महिनामै एलन मस्कले विभिन्न मुद्धा मामिला पछि माइक्रो ब्लगिंग साइट ट्विटर खरिद गरे । मस्कले ट्विटर खरिद गरे देखि नै ट्विटर र एलन मस्कले निरन्तर विवादास्पद निर्णयका कारण चर्चाको केन्द्रमा रहे । दक्षिण कोरियाको सोलमा हृयालोइन पर्वको बेला आयोजना गरिएको एक कार्यक्रममा भिडभाडमा परि १ सय ५८ जनाको मृत्यु भयो । 

नोभेम्बर महिना लागेपछि इजरेलमा भएको ४ वर्षको ५ औं आम निर्वाचनमा पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पार्टी विजयी भयो । सोही पछि बहुमत जुटाउँदै नेतान्याहु गत बिहिबार मात्रै प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

सन् २०२२ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । वर्षको अन्त्यतिर कतारमा भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । विश्वकपको जितले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको प्रदर्शन र सफलताका कारण उनलाई सर्वकालिन महान् फुटवलर बनायो ।

वर्षको अन्त्यतिर चीनमा जिरो कोभिड पोलिसि हटाएपछि संक्रमण उच्चदरमा बढिरहेको छ । अझै पनि रुस र युक्रेनबीच जारी तनाव अन्त्य हुन सकेको छैन । सन् २०२२ मा कोभिड विरुद्धको खोप, विश्व आर्थिक मन्दी, महंगी जस्ता विषयले चर्चा पाए । वर्षको अन्त्यतिर अर्थात् डिसेम्वर २९ का दिन विश्व फुटवलका महान् खेलाडी पेले यो संसारबाट विदा भए । 


प्रतिक्रिया