चुनावमा पार्टीको हारपछि जापानी प्रधानमन्त्रीद्धारा राजीनामा दिने घोषणा

भाद्र २२, २०८२
काठमाडौँ । संसदीय निर्वाचनमा पार्टीले ऐतिहासिक हार व्यहोरेपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले पदबाट राजीनामा दिनुभएको छ ।
१ वर्षभन्दा कम समय सत्तामा रहेका प्रधानमन्त्री इशिबाले सदनको दुई प्रमुख निर्वाचनमा हार व्यहोरेपछि त्यसको जिम्मेवारी लिँदै आज राजीनामा दिनुभएको हो ।
सत्तारुढ दल लिवेरल डेमोक्रेटिक पार्टीभित्रै सो हारको जिम्मा लिनुपर्ने भन्दै दबाब बढ्न थालेको एक महिनापछि प्रधानमन्त्री इशिबाको राजीनामा आएको बीबीसीले जनाएको छ ।
गत वर्ष अक्टोबरमा पदभार ग्रहण गरेदेखि इशिबाको पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएको छ । जसले पार्टीलाई १५ वर्षमा पहिलो पटक तल्लो सदनमा अल्पमतमा पारेको हो । यी पराजयहरूले इशिबाको गठबन्धनलाई आफ्ना उद्देश्य कार्यान्वयन गर्न कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।