ब्राजिलमा निजी विमान दुर्घटना, एकै परिवारको १० जनाको मृत्यु

पुस ८, २०८१ | काठमाडौं

दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । पाइलट समेत रहेका ६१ वर्षीय ब्राजिलियन व्यापारी लुइस क्लाउडियो गालेज्जी सहित उनका परिवारको सदस्यको मृत्यु भएको बताइएको छ । 

पाइलट सहित उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यको दुर्घटनामा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विमान पहिले एक घरको चिम्नीमा ठोक्किएपछि अर्को भवनमा पसलमा खसेको बीबीसीले उल्लेख गरेको छ । 

विमान घरमा खस्दा १७ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ । विमान धनी ग्यालेज्जी आफ्नो परिवारसहित साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा जाने क्रममा दुर्घटनाग्रस्त भएको ब्राजिलका सञ्चारमाध्यमलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । 

रियो ग्रान्डे दो सुलका गभर्नर इड्वार्डो लेइतेले पत्रकार सम्मेलन गर्दै विमान दुर्घटनामा मारिएका सबै १० जना ग्यालेज्जीको परिवारका सदस्य रहेको बताउनुभयो । प्रतिकूल मौसममा विमान उडेको उहाँको भनाई छ । 

विमान तीन किलोमिटर उडान भरेको केही मिनेटपछि खसेको थियो । गभर्नर लेइतेले दुर्घटनाबारे एरोनटिकल एक्सिडेन्ड इन्भेस्टिगेशन एन्ड प्रिभेन्शन सेन्टरले थप अनुसन्धान गरिरहेको बताउनुभयो । 


प्रतिक्रिया