महोत्तरीमा मोटरसाइक आगलागी हुँदा ३ विद्यार्थीको जलेर मृत्यु
चैत्र २४, २०८२ | काठमाडौं
महोत्तरीस्थित जलेश्वर–बर्दिबास सडकखण्डको बथनाहा गाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये पहिचान खुलाएको छैन । त्यस्तै, मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आपसमा ठोक्किएका थिए । उनीहरू एसईई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको खुल्न आएको छ ।











