भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त
चैत्र २४, २०८२ | काठमाडौं
भारतको मणिपुर राज्यमा बम आक्रमणमा दुई बालबालिकाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । सरकारले सुरक्षालाई ध्यानमा राख्दै पाँच जिल्लामा अस्थायी रुपमा इन्टरनेट र मोबाइल डेटा सेवा बन्द गरेको छ ।
आज बिहान विष्णुपुर जिल्लाको मोइराङ क्षेत्रमा संदिग्ध विद्रोही समूहले गरेको बम आक्रमणमा एक ५ महिनाकी शिशु र ५ वर्षका बालकको मृत्यु भएको हो। सो घटनामा आमासमेत घाइते भएकी छन् ।
सरकारले इम्फाल, विष्णपुर लगायतका ५ जिल्लामा तीन दिनका लागि इन्टरनेट सेवा बन्द गरेको जनाएको छ । घटनापछि सो क्षेत्रका स्थानीयले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले एक सुरक्षाकर्मीको क्याम्पमा आक्रमण गर्ने प्रयास गरेका छन् भने केही स्थानमा तेल ट्यांकरमा आगजनीसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सो क्रममा ४ जना घाइते भएका छन् । प्रारम्भिक विवरण अनुसार सीमा सुरक्षा बलका कर्मचारीको रहेको भवनमा बम विस्फोट हुँदा सो घटना भएको बताइएको छ ।










