युक्रेनद्वारा रुसबाट युरोपमा हुँदै आएको इन्धन आपूर्तीमा रोक
पुस १८, २०८१ | काठमाडौं
युक्रेनले आफ्नो भू–भाग हुँदै रुसबाट युरोपेली मुलुकमा इन्धन आपूर्ति गर्न रोकेको छ । योसँगै रुसले युरोपेली मुलुकमा दशकौंदेखि गर्दै आएको इन्धन व्यापार प्रभावित बनेको विश्लेषण भएको छ ।
यसअघि रुसबाट युरोपेली मुलुकमा इन्धन आपूर्ति गर्नका लागि युक्रेनको भू–भाग प्रयोग गर्ने सम्झौता सन् २०२४को अन्त्यसम्म थियो । सो सम्झौताको नवीकरण गर्न युक्रेनले असहमति जनाएसँगै युरोपमा रुसी इन्धन आपूर्ति बन्द भएको हो ।
रुसी इन्धन युरोपेली मुलुकमा बन्द गर्नुलाई ठूलो सफलता भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई एक प्रकारले हराइएको बताउनुभयो ।
त्यस्तै, युरोपेली मुलुकमा आवश्यक इन्धन आपूर्ति गर्न उहाँले अमेरिकालाई आग्रह गर्नुभएको छ । यसैबीच, रुसबाट इन्धन आपूर्तिमा अवरोध आएपनि युरोपेली मुलुकमा मुल्य भने प्रभावित नहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।