त्रिवेणी कपः पहिलो प्रवेशमै एपीएफ च्याम्पियन
पुस २०, २०८१ | लमजुङ
विभागीय टीम एपीएफ फुटवल क्लव लमजुङमा आयोजित त्रिवेणी कप फुटवल प्रतियोगिताको ३२ औं संस्करणमा च्याम्पियन बनेको छ । बेंसीसहरको त्रिवेणी रंगशाला सहजी खेलमैदानमा शनिबार एपीएफले यसअघि ३ पटकसम्म त्रिवेणी कप उचालेको बुद्ध युवा क्लव (बीवाईसी) भोटेओडार लमजुङलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो ।
टाइब्रेकरमा दुवैपक्षका गोल रक्षकले १–१ गोल रोकेपछि दबावमा परेको भोटेओडारका खेलाडी सचिन तामाङले प्रहार गरेको बललाई गोलरक्षक एन्जल श्रेष्ठले टच गर्दा बाहिरन पुगेपछि एपीएफको भाग्य चम्किएको हो । खेलको पहिलो हाफको सुरुवाती १२ मिनेटमा बीवाईसीका समीर तामाङले गोल खाता खोले ।
पहिलो हाफको ३० मिनेटमा एपीएफका युवराज खड्काले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको ६ मिनेटमा एपीएफका कप्तान हरि कार्कीले गोल गरेर अघि बढाए । ८ मिनेटको इन्जुरी टाइम ३ मिनेट जा“दै गर्दा भोटेओडारका समीरराज ठकुरीले गोल गरेपछि खेल बराबरीमा आयो ।
थप १६ मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल अवधिभर एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दि म्याच बन्दै नगद १० हजार रुपैयाँ पाए । विजयी एपीएफले १२ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र पाए । उपविजेता भोटेओडारले ६ लाख रुपैयाँमा चित्त बुझाए । प्रतियोगिता अवधिभर ६ गोल गरी एपीएफका प्रदीप लामाले सर्वाधिक गोलकर्ताको उपाधीसँगै नगद २५ हजार रुपैयाँ र ट्रफी पाए । उत्कृष्ट खेलाडी घोषित हुँदै भोटेओडारका विदेशी खेलाडी इम्यानुअलले २५ हजार रुपैयाँ र ट्रफी पाए ।
विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गरे । त्रिवेणी युवा क्लव बेंसीसहरले पुस १२ गतेदेखि आयोजना गरेको ३२ औं त्रिवेणी कपमा १६ टिमले सहभागिता जनाएका थिए ।