भारत र अमेरिकाबीच यसै साता हुने तय भएको व्यापार वार्ता स्थगित

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ११, २०८२ | काठमाडौं

भारत र अमेरिकाबीच यसै साता हुने तय भएको व्यापार वार्ता स्थगित भएको छ । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका विश्वव्यापी भन्सार शुल्क खारेज गरेपछि त्यसको प्रभाव अध्ययन गर्न वार्ता सारिएको भारतीय वाणिज्य मन्त्रालयले जनाएको हो । यसअघि भारतीय प्रतिनिधिमण्डल अन्तरिम व्यापार सम्झौताका विषयलाई अन्तिम रुप दिन वाशिङ्टन जाने तयारी भइरहेका वेला वार्ता स्थागित भएको हो । 

अमेरिकी बजारमा भारतीय वस्तुमाथि लाग्ने शुल्क ५० प्रतिशतबाट घटाएर १८ प्रतिशत बनाइएको केहि समय पछि अदालतबाट आएको आदेशले नयाँ अनिश्चितता सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 फेब्रुअरी २ मा ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवादपछि दुई देश अन्तरिम व्यापार सम्झौतामा पुगेको घोषणा गरिएको थियो । सम्झौताअनुसार भारतले अमेरिकी औद्योगिक वस्तु तथा केही खाद्य र कृषि उत्पादनमा आफ्नो नियमित शुल्क घटाउने प्रतिबद्धता जनाएको थियो । त्यसको बदलामा अमेरिकाले पनि आफ्नो करको दर परिमार्जन गर्ने जनाएको थियो ।  


प्रतिक्रिया