धरानमा अन्तर्राष्ट्रिय साहित्यिक सांस्कृतिक महोत्सव हुने

फाल्गुन २७, २०७७ | सुनसरी

सुनसरीको धरानमा शुक्रबारदेखि दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ । पूर्वका श्रष्टाहरुलाई नेपाल र छिमेकी मुलुकका अग्रज, समकालिन साहित्यकार तथा कलाकारबीच अन्तरक्रियात्मक जमघट गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

प्रदेश एक सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा वडा १३ ले आयोजना गर्ने महोत्वसमा भारतको मणिपुर, सिक्किम, सिलिगुरी, दार्जिलिङ, आसाम लगायतबाट ५० जना नेपाली भाषी साहित्यकारको सहभागिता रहनेछ । 

महोत्वसका संयोजक साहित्यकार बम देवानका अनुसार लक्ष्मी चोकस्थित धरान बैक्वेटमा दुई दिनसम्म चल्ने महोत्सवमा उपत्यकाका स्थापित र चर्चित कहलिएका साहित्यकारलाई भन्दा पनि अन्यत्रका साहित्यकारलाई बढी प्राथमिकता दिईएको छ । 

उहाँले भन्नुभयो, ‘साहित्यकार कला र संस्कृतिका चेतनाका सम्वाहक भएकाले छिमेकी मुलुकका नेपाली भाषी साहित्यकारलाई बोलाएका छौं । साहित्य र संस्कृतिको बहससँगै पर्यटन प्रवर्धन गर्नु पनि अर्को उद्देश्य हो ।’

महोत्सव सम्पन्न गर्न साहित्यकार देवानको संयोजकत्वमा १७ सदस्यीय मुल आयोजक समिति बनेको छ । करीब २ सय २५ जना साहित्यकारको जमघट हुने महोत्सव महोत्सवमा प्रा डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदान बारे कार्यपत्र प्रस्ततु गर्नेछन् भने विभिन्न क्षेत्रबाट आएका कविहरुको कविता वाचन पनि हुनेछ । 

नेपालीमुलका भारतीय नागरिकले नेपाली साहित्यमा पुर्‍याएको योगदान बारे पनि छलफल, विमर्श कार्यक्रम हुनेछ भने कविता गोष्ठी र सांस्कृतिक कार्यक्रम आदान प्रदान गरिने सहसंयोजक गोपाल प्रयासले बताउनुभयो । 

दोस्रो दिन गजल वाचन, नाटक मञ्चनपछि धरान बाहिरबाट सहभागी श्रष्टालाई धार्मिक पर्यटकीयस्थलको अवलोकन गराउने कार्यक्रम रहेको छ । आयोजक वडा १३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार धरान बाहिरबाट आउने पाहुना श्रष्टाका लागि आउने, जाने, खाने, बस्ने सबै व्यवस्था आयोजकले मिलाएको छ ।


प्रतिक्रिया