सम्झनामा स्वर्गीय अरुण थापा

श्रावण ६, २०७८ | काठमाडौं

भक्तपुर सांगीतिक समाजले अरुण थापाको २२ औं पुन्य तिथिको अवसर पारेर उनलाई गीत संगीत मार्फत सम्झना गरेका छन् । स्वर्गीय गायक थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलबार भक्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

२००८ सालमा भारतको कलकत्तामा जन्मिएका गायक थापाको २०५६ साउन ५ गते काठमाडौंमा निधन भएको थियो । उनको भौतिक जीवन छोटो भएपनि सांगीतिक जीवन भने अजर अमर रहेको छ । 

नेपाली संगीताकाशमा सीमित गीत गाएर पनि सदा जीवित रहन सफल कलाकार हुन् अरुण थापा । थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् ।

प्रेम र त्यसबाट मिल्ने सुख या दुःखका साथी बनेका छन् उनका गीतहरु । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले उनका गीतको रोमाञ्चकतालाई दर्शाउछन् । यस्तै ‘चोट के हो, बेथा के हो’ बोलको उनको गीतले प्रेममा भोग्नु पर्ने पीडाको चित्र उतारेको छ । उनका अधिकांश गीतहरुको स्मरण मंगलबार भक्तपुरमा गरियो । 

भक्तपुरको दूधपाटीस्थित तिसा इनमा भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले गायक थापाको कालजयी गीतहरु त गुनगुनाए नै, उनको स्मृति जोडिएका विविध पक्षहरु बारे समेत विचार आदानप्रदान गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको कार्यक्रममा अधिकांशले उनको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको बताए । 

कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले तिमी राम राम भजि बाँच भन्ने कामना गरे भने वरिष्ठ गायक सत्य नारायण प्रजापतिले चोट के हो ब्यथा के को मार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाइ दिए । 

भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कस्पालले ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ मार्फत संगीतका बसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले भुलुँ भुलुँ लाग्यो गाउँदै गायक थापालाई भुल्न दिएनन् । 

विगत ३ वर्षदेखि निरन्तर रुपमा अरुण थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको हो । कोभिड-१९ का कारण विगतमा जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको समाजले जनाएको छ । 

गायक थापाको कर्णप्रिय गीत चोट के हो ब्यथा के हो का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीको आतिथ्यता रहेको थियो । 

भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको पछिल्लो सफलताका लागि सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया