गति नियन्त्रण गर्न ‘टाइम कार्ड’ लागू

माघ ५, २०७६ | झापा

सवारी दुर्घटना न्यूनीकरणका गर्न झापाका सवारीसाधनमा आजदेखि ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसहरुमा टाइम कार्ड अनिवार्य गरेको हो । 

तिव्र गतिमा चल्ने सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको गुनासो बढेपछि यात्रुबाहक बसहरुमा टाइम कार्ड लागू गरेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताउनुभयो । यो नियमअन्तर्गत यात्रुबसहरुले तोकिएको समय सीमाभित्र जिल्लाको ५५ किलोमिटर सडक खण्ड पार गर्नुपर्नेछ । निर्धारित समयभन्दा छिटो सवारी चलाएको खण्डमा ट्राफिक नियमअनुसार कारबाही गर्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

पूर्वी नाका काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटरको दूरी बसहरुले ३० मिनेटमा पार गर्नुपर्ने समय तोकिएको छ । बिर्तामोडदेखि मोरङको सिमाना दमकको ताराबारीसम्मको ३८ किलोमिटर सडक खण्ड पार गर्न एक घण्टाको समय निर्धारण गरिएको छ । दमकदेखि बिर्तामोडसम्मको ३३ किलोमिटरको यात्रा ५५ मिनेटमा गर्नुपर्ने जिल्ला ट्राफिकका प्रहरी नायब निरीक्षक नारायण आचार्यले जानकारी दिनुभयो । 

समय तालिका जाँच गर्न काँकडभिट्टा, बिर्तामोड र दमकमा ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ । बिराटनगर, इटहरी, धरानलगायत पश्चिम क्षेत्रबाट जिल्ला प्रवेश गर्ने सवारीहरुले दमकको ताराबारीमा तथा काँकडभिट्टाबाट छुट्ने गाडीले काँकडभिट्टामा र भद्रपुर, बिर्तामोड, शनिश्चरेलगायतका स्थानबाट छुट्ने गाडीले बिर्तामोडमा टाइम कार्डमा छाप लगाउनुपर्ने आचार्यले बताउनुभयो ।

चालु बर्षको ६ महिनामा जिल्लामा २ सय ३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी यो अवधिमा ३८ जनाको मृत्यु भएको छ ।

जिल्लाभित्र पर्ने ५५ किलोमिटर पूर्वपश्चिम राजमार्गमा दैनिक करीब २५ सय सवारी साधन सञ्चालन हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 


प्रतिक्रिया