सेनाका उपरथी हमाल शान्ति मिसनको फोर्स कमाण्डरमा नियुक्त

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०७६ | काठमाडौं

संयुक्त राष्ट्रसंघले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई शान्ति मिसनको ‘फोर्स कमाण्डर’मा नियुक्त गरेको छ । महासचिव एन्टोनियो गुटर्रेसले उपरथी हमाललाई ‘फोर्स कमाण्डर’मा नियुक्त गर्नुभएको हो । 

हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नुहुनेछ । शान्ति स्थापनाका लागि सो क्षेत्रमा नेपाल लगायत ४० देशका सैनिकहरु कार्यरत छन् । 

यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्स ‘अनडफ’को कार्यवाहक प्रमुख नेपाली सेनाकै उपरथी शिवराम खरेल हुनुहुन्थ्यो । उहाँले अवकास पाइसक्नुभएको छ । 

उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा शिक्षाधिकृत हुनुहुन्छ । अमेरिकाबाट ‘नेशनल डिफेन्स कोर्स’ गरेका हमाल राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकृत हुनुहुन्छ । 

अनडफ मिसन’को प्रमुखका रुपमा हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सन् २०१५ मा जिम्मेवारी पाउनुभएको थियो । 

सन् १९८३ मा आर्टिलरी अधिकृतका रुपमा नेपाली सेनाका प्रवेश गरेका उपरथी हमालले ‘फोर्स कमाण्डर’का साथै ‘हेड अफ द मिसन’को समेत जिम्मेवारी सम्हाल्नुहुनेछ ।

हमालको नेतृत्वमा रहने फोर्सले इजरायल र प्यालेस्टाइनबीच हुने द्वन्द्वात्मक क्रियाकलापलाई निरीक्षण गर्नुपर्ने हुन्छ । 

फोर्स कमान्डरमा प्रतिस्पर्धाको लागि सेनाको सिफारिसमा नेपाल सरकारको स्वीकृत लिएर यूएनमा आवेदन दिनुपर्ने हुन्छ । 

विभिन्न मुलुकबाट आएको आवेदन र त्यसपछि हुने प्रतिस्पर्धामा अब्बल बन्दै फोर्स कमान्डरको नेतृत्व गर्न पाइन्छ । फोर्स कमान्डरले विभिन्न मुलुकका सैनिकहरुलाई परिचालन, निर्देशन र नियन्त्रण गर्छन् । 


प्रतिक्रिया