कोभिड – १९ को त्रासले बढायो मानसिक तनाव : मनोचिकित्सक

चैत्र १०, २०७६ | काठमाडौ

कोरोना भाइरसको त्रासका कारण पछिल्लो समय नागरिकमा मानसिक तनाव बढेको चिकित्सहरुले बताएका छन् । कोरोनाको त्राससँगै सामाजिक सञ्जालमा आउने अनावश्यक हल्ला, अत्यावश्यकीय बाहेक सवै सेवा बन्द भएपछि खाली समयमा आउने विभिन्न सोच लगायतले तनावको स्तर बढाएको काभ्रेको धुलिखेल अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. अजय रिसालले बताउनुभयो । सामाजिक सञ्जालमा आएका सबै समाचार पत्याएर तनाव लिनेको संख्या पनि बढेको डा. रिसालको भनाइ छ ।

प्रतिकुल समयमा आफूलाई सुरक्षित राखेर घरको काममा सघाउने, बगैँचामा समय बिताउने, भजनकिर्तन लगायत आध्यात्मिक कार्यमा संलग्न हुन सके सकारात्मक विचार उत्पन्न हुने चिकित्सकको सुझाव छ । मत्यु भएका वा विरामी भएको संख्याबारे लेख्नु सट्टा यति निको, दैनिकीमा फर्किए भन्ने सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण तथा पढ्ने बानीको समेत विकास गर्न मनोचिकित्सकले सुझाएका छन् ।

यसैबीच चितवनको भरतपुर अस्पतालमा सामान्य बेला भन्दा बढी संख्यामा मानसिक स्वास्थ्यका विरामी उपचारका लागि आउन थालेको मनोचिकित्सा विभागका विशेषज्ञ डा स्मिता न्यौपानेले जानकारी दिनुभयो । त्रासका कारण सामान्य अवस्थामा मानसिक स्वास्थ्य समस्या नभएकामा समेत तनाव देखिन थालेको डा. न्यौपानेले बताउनुभयो । पुराना विरामीमा कोभिड–१९ को समाचारका कारण फैलिएको त्रासले मानसिक समस्या पुन फर्कने, मादकपदार्थ सेवनको लत छाडेकाले पनि सुरु गर्ने जस्तो समस्या देखिएको डा.स्मिताको भनाई छ । 


प्रतिक्रिया