ग्यास सिलिण्डर अभावले ६८ ग्यास वुलेट धादिङमै थन्किए

चैत्र २८, २०७६ | काठमाडौं

लकडाउन जारी रहँदा एलपी ग्यासको आपूर्ती नियमित भइरहेको दाबी सरकारले गरेपनि रिफिल गर्ने उद्योगहरुमा सिलिण्डरको अभाव देखिएको छ । बजारमा गएका सिलिण्डर फिर्ता नहुँदा उद्योगहरुमा सिलिण्डर अभाव भएको हो ।

काठमाडौंं र छिमेकी जिल्लाका ग्याँस उद्योगहरुमा सिलण्डिर फिर्ता नभएपछि ढुवानी गर्ने ६८ ग्याँस बुलेट धादिङमै थन्किएका छन् । सरकारको आधा मात्रै ग्यास दिने निर्णयले बजार गएका ग्यास सिलिण्डरहरु पनि बिक्री नभएपछि सिलिण्डर अभाव भएको हो । 

थाक्रे ७ जुुंगेखोला स्थित श्री ग्यास उद्योगले काठमाण्डौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिण्डर वजार पठाएको छ । ६ वटा बुलेट भण्डारण क्षमता भएका सो कम्पनीको मासिक २ सय ४८ टन आयात गर्न पाउने अनुमती हो । तर भएका सिलिण्डरमा आधा मात्रै भर्ने सरकारी निर्णयले ग्यासनै विक्री नभएको उद्योगका स्टोर किपर श्यामकृष्ण उप्रेतीले बताउनुभयो ।

उप्रेतीका अनुसार १४ दशमलव २ केजी ग्यास भरेर वजार पठाउने भएकाले भर्न सजिलो भए पनि आधा भर्दा पुरै समय निगरानी गर्नु पर्ने, ढुवानी खर्च र जनशक्तिको खर्च पनि उत्तिनै लाग्ने भएकोले घाटा पर्छ । वजारमा लकडाउन अघिनै उपभोक्ताले ग्यासको जोहो गरेर राखी पछि आधा ग्यास किन्न नमानेका कारण आधा भरेर पठाएका सिलिण्डरहरु वजारमै होल्ड भएको हो ।

पृथ्वी राजमार्गसँग जोडिएका होटेलहरु बन्द रहेकाले पनि माग कम भएको उद्यमीहरुले बताउँछन् ।

धादिङका १३ वटा ग्यास रिफिल गर्ने उद्योगहरुले करिव १० लाख सिलिण्डर वजार पठाएका छन् भने सामान्य अवस्थामा दैनिक २० हजार सिलिण्डर वजार पठाउने गरेका छन् । चितवनको कुरिनटार देखि नौविसे सम्मको पृथ्वीराजमार्गमा मात्रै १९ वटा ग्यास भर्ने उद्योगहरु संचालनमा छन् । 

धादिङका १३ वटा ग्यास उद्योगहरुले मात्रै दैनिक २० हजार सिलिण्डर ग्यास राजधानी पठाउने गरी मासिक २ सय ५ वुलेट ग्यास आयात गर्छन् । 


प्रतिक्रिया