उदयपुरको भुल्केका थप तीन महिलामा कोरोना संक्रमण

वैशाख २७, २०७७ | मोरङ

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण देखिएको हो । 

भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिडेण्टेण्ट डा. संगिता मिश्रले बताउनुभयो । अन्यको स्वाब परीक्षण जारी रहेको उहाँले जानकारी दिनुभयो । 

उदयपुरको स्वास्थ्य प्रमुख मोहन सुवेदीले थप तीन जना संक्रमित फेला परेका को को हुन भन्ने थप विवरण आउने क्रममा रहेको बताउनुभयो । उनीहरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

बैशाख ५ गते भुल्केको नुरी मस्जिदमा बसेका ११ भारतीय र १ नेपाली सहित १२ जनामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि भुल्केका हालसम्ममा भुल्केका ३१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बुधबार ६ र शुक्रबार ८ जना गरी १४ जना कोरोना भाइरस मुक्त भई घर फर्किसकेका छन् । 

उनीहरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरी चिकित्सकले प्रत्यक्ष निगरानी गर्दै आएका हुन् । प्रदेश १ मा भुल्केका ३१, भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ गरी संक्रमितको संख्या ३४ पुगेको छ भने मुलुकभरिमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । जसमध्ये ३० जना निको भएर घर फर्सिसकेका छन् । 


प्रतिक्रिया