छाङ्गरुमा बीओपी स्थापना गर्न सशस्त्र प्रहरीको टोली ब्यास प्रस्थान

वैशाख ३१, २०७७ | दार्चुला

ब्यास गाउँपालिका १ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण बाबु थापा नेतृत्वको टोली बुधबार दिउँसो ब्यास प्रस्थान गरेको छ । सेनाको हेलिकप्टरमार्फत बिओपी स्थापनाका लागि आवश्यक सामान बोकेर ब्यास प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

सेनाको हेलिकप्टरले पहिलो पटकमा सशस्त्र प्रहरी बल नेपाल नम्ब्र ५० गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्ट नेतृत्वमा सशस्त्र प्रहरीको टोली ब्यास गाउँपालिका १ नितिकुण्डमा रहेको नेपाल प्रहरीको चौकीमा अवतरण गरेको थियो । 

दोस्रो पटकमा सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक थापा, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लगायतको टोली ब्यास क्षेत्र उठेको हो ।

बुधवार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टर विओपीका लागि आवश्यक पर्ने सामान तथा सशस्त्र प्रहरीको टोलीको बन्दोबस्तोको सामान ढुवानी गरिरहेको छ । सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना बिओपी स्थापना गरिएको गुल्मपति बिष्टले जानकारी दिए । 

उक्त स्थानमा विओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु हेलिकप्टर मार्फत ढुवानी गरिने छ ।

भारतले गत शुक्रबार लिपुलेक, कालापानी लगायत क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरिएपछि सरकारको चौतर्फी बिरोध हुदा बिओपी स्थापनामा तदारुकता देखिएको हो । 

गत मंसिरमै बिओपी स्थापनाका लागि छाङ्गरुमा जग्गा उपलब्ध भएको थियो । अहिले छाङ्गरुका एक जना स्थानीयको घर भाडा लिई बिओपी स्थापना गरिने पछि संरचना बनाईने जनाएको छ । ब्यास क्षेत्रमा बिओपी स्थापना भएपछि सीमा सुरक्षासंगै चोरीसिकारी, अपराधिक गतिविधि नियन्त्रण र स्थानीयलाई सुरक्षाको प्रत्याभुति हुने छ ।  


प्रतिक्रिया