स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लामिछानेमाथिको थुनछेक बहस आजदेखि
पुस २९, २०८१ | काठमाडौं
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि आजदेखि जिल्ला अदालतमा थुनछेकको बहस सुरु गर्ने तयारी गरिएको छ ।
कास्कीबाट हिरासतमुक्त भएको तेस्रो दिन हिजो अदालत उपस्थित भएका लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको हो ।
लामिछानेका तर्फबाट कानून व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको बताउनुभयो ।
कानून व्यवसायी वा परिवारको जिम्मा लगाइदिन आग्रह गर्दा न्यायाधीशले नमानेको र प्रहरीको जिम्मामा न्यायिक हिरासतमा पठाइएको न्यौपानेको भनाइ छ ।
स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रुपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो । हिजो अदालतमा बयानका क्रममा सो अभियोग पत्र पढेर लामिछानेलाई सुनाइएको थियो ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बैंकिङ सफ्टवेयर प्रणालीमा आफ्नो नाम देखिएको सन्दर्भमा लामिछानेले के कसरी त्यो भयो भन्ने जानकारी नभएको तर सहकारीमा आफू ऋणी पनि नरहेको जिकिर गर्नुभएको थियो । अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ८४ दिनपछि हिरासत मुक्त हुनुभएको थियो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भएको छ ।